खेलकुद

माइकलको गोलले एभर्टन शीर्ष चारमा

इकागज |
पुस २९, २०७७ बुधबार ७:३० बजे

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले वुल्भ्सलाई हराएको छ । मंगलबार राती भएको खेलमा कार्लो एन्सेलोट्टीको टिमले वुल्भ्समाथि २-१ गोल अन्तरको संघर्षपूर्ण जित हात पारेको हो ।

७७ औंँ मिनेटमा माइकल किनले गरेको गोलबाट एभर्टनको जित सम्भव भएको हो । आन्द्रे गोमेजको पासमा माइकलले गोल गरेका थिए । खेल शुरु भएको ६ मिनेटमै इओबीले गोल गर्दै एभर्टनलाई शुरुवाती अग्रता दिलाएका थिए ।


१४ औँ मिनेटमा वुल्भ्सका नेभासले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा माइकलले गोल गरेपछि एभर्टन शीर्ष चारमा पुग्न सफल भएको हो । जितपछि एभर्टनको १७ खेलबाट ३२ अंक भएको छ । गएका बर्षमा शीर्ष चारमा पर्न असफल हुँदै आएको एभर्टन यसपटक कम्तीमा च्याम्पियन्स लिग खेल्ने उद्धेश्यसहित आक्रामक रुपमा खेलिरहेको छ ।

यसका लागि एन्सेलोट्टीको टिमले रियल मड्रिडबाट जेम्स रोड्रिग्वेजलाई भित्र्याएको छ । समान अंक भएपनि गोल अन्तरका आधारमा लेस्टर सिटी तेस्रो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ३३ अंक छ भने शीर्ष स्थानमा पुगेको म्यानचेष्टर युनाईटेडको ३६ अंक छ । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)


Author

थप समाचार
x