खेलकुद

उपत्यकाव्यापी सडक दौडमा विश्वराम र मनिषा विजयी

इकागज |
फागुन ७, २०७८ शनिबार १४:१९ बजे

काठमाडौं–जेसिस मध्यमिक विद्यालय भक्तपुरका विश्वराम कुँवर र विजेश्वरी ज्ञान मन्दिर, काठमाडौंकी मनिषा गिरी माध्यमिक विद्यालयस्तरीय उपत्यकाव्यापी सडक दौड प्रतियोगितामा पहिलो भएका छन् ।

शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा काठमाडौंमा आयोजित दौडको छात्र ५ किलोमिटर दूरी विश्वरामले १७ मिनेट ०७.४ सेकेन्डमा पूरा गरे । पिनाकल एकेडेमी, ललितपुरका विकेश घिमिरे दोस्रो, बागेश्वरी मावि, भक्तपुरका अमराज थापा तेस्रो, सैनिक आवशीय मावि, भक्तपुरका ईश्वरचन्द्र बस्नेत चौथो र बागेश्वरीका अविराज राईले पाँचौं स्थानमा दौड टुंगाए ।


छात्राको ३ किलोमिटर दूरी मनिषाले १५ मिनेट १५.८ सेकेन्डमा पूरा गरिन् । दोस्रोदेखि चौथो स्थान हासिल गर्नेमा क्रमशः जेसिसकी प्रकृति सुवाल, नेपाल आदर्श मावि, काठमाडौंकी सरीता साह, जेसिसकी उर्जा मधिकर्मी र जेसिसकै स्वागता खाइजु रहेका छन् । दुवै समूहमा शीर्ष पाँच स्थान हासिल गर्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सविच डा. दामोदर रेग्मी, राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौडको मन्त्री गहतराजले नै उद्घाटन गरेका थिए । सो क्रममा उनले खेल क्षेत्रको बिकासका लागि सरकार प्रतिवद्ध रहेको बताए।

७२ औं प्रजातन्त्र दिवसका अवसरमा आयोजित दौडमा २ सय प्रतिस्पर्धी सहभागी भएको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो ।


Author

थप समाचार
x