पीएसजीमा पहिलो उपाधि जितेका पोचेटिनोले दिए टुचेललाई धन्यवाद
काठमाडौं : माउरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार जितेको ‘ट्रफी देस च्याम्पियन्स’ को उपाधि थोमस टुचेल प्रति सर्मपित गरेका छन् । पीएसजीलाई आफ्नो कार्यकालको पहिलो उपाधि जिताएपछि पोचेटिनोले फ्रेन्च क्लबका पूर्व प्रशिक्षक टुचेललाई पनि धन्यवाद दिएका हुन् ।
गत सिजनको फ्रेन्च लिग वान र घरेलु कप (कप डे फ्रान्स) का विजेताबीच खेलाइएको प्रतियोगिता जित्न पीएसजीका माउरो इकार्दी र नेयमारले एक–एक गोल गरे । मार्सेका लागि भने डिमित्री पायेटले एक गोल फर्काए ।
गत साता मात्रै पीएसजीको कार्यभार सम्हालेका पोचेटिनाले पेरिस क्लबका लागि तेस्रो खेलमै उपाधि जिताए । पीएसजीले आठौं पटक ‘ट्रफी देस च्याम्पियन्स’ को उपाधि जित्दा पोचेटिनोले टुचेललाई बाहेक पीएसजीका अध्यक्ष र स्पोर्टिङ निर्देशकलाई पनि धन्यवाद दिए । ‘म सम्पूर्ण खेलाडी, अध्यक्ष र लियोनार्दोलाई धन्यवाद दिन चाहान्छु । म टुचेल प्रति पनि आभार छु । उनले पीएसजीमा राम्रो काम गरेको भएरै मैले सुरुवातमै उपाधि जित्न पाए,’ पोचेटिनोले भने ।
उता पराजित मार्सेका प्रशिक्षक आन्दे्र भिल्लास बोएसले आफ्नो टिमले नराम्रो नखेलेको प्रतिक्रिया दिए । ‘खेलमा दुबै टिमले राम्रो खेले । गोलको अवसर सिर्जना गर्नेमा दुबै टिम उत्तिकै बलियो थिए । त्यसकारण हामी पनि यो खेल जित्नका लागि योग्य थियौं,’ बोएसले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया