पाकिस्तान क्रिकेट :
न्यूजिल्यान्डमा बलरहरूले राम्रो खेलेका हुन् : वाकर युनिस
काठमाडौँ : पाकिस्तान क्रिकेट टिमका बलिङ प्रशिक्षक वाकर युनिसले आफ्नो टिमको प्रदर्शन सुध्रिदै जाने बताएका छन् । न्यूजिल्यान्ड भ्रमणमा टेस्ट र टि-ट्वान्टी श्रृङ्खला दुवैमा पराजित भएपछि पाकिस्तानी टिममाथि प्रश्न उठिरहेको अवस्थामा युनिसबाट यस्तो प्रतिक्रिया आएको हो ।
‘बाहिरबाट विभिन्न टिप्पणीहरू आएका छन् । टिप्पणी गर्न सजिलो छ । म पाकिस्तान टिमको प्रशिक्षक भएको नाताले भन्न सक्छु, हाम्रो प्रदर्शन आउँदा खेलहरूमा राम्रो हुँदै जानेछ,’ युनिसले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘म बलिङ प्रशिक्षक हो । म हाम्रो बलरहरूको प्रदर्शन सुधार्नका लागि मेहेनत गरिरहेको छु । बलरहरूले स्वभाविक लय देखाउन सुरु गरेपछि पाकिस्तान टिमको प्रदर्शन स्वतः फरक हुनेछ ।’
पाकिस्तानले भर्खरै सम्पन्न गरेको न्यूजिल्यान्ड भ्रमणमा टेस्ट श्रृङ्खला २-० र टि-ट्वान्टी श्रृङ्खला २-१ ले गुमाएको थियो । पाकिस्तान सम्पूर्ण विभागमा कमजोर देखिएको थियो । कप्तान तथा प्रभावशाली ब्याट्सम्यान बाबर आजम चोटका कारण मैदान बाहिर रहेपछि पाकिस्तान बलिङसँगै ब्याटिङमा पनि कमजोर देखियो ।
उता पाकिस्तान क्रिकेट बोर्डको मंलबार बसेको बैठकले प्रशिक्षकहरूले आफ्नो प्रशिक्षण शैली र खेल रणनीतिका बारेमा प्रष्ट पार्नुपर्ने बताएको छ । बोर्डको भनाई सार्वजनिक भएको भोलिपल्ट बलिङ प्रशिक्षक युनिसले न्यूजिल्यान्डमा आफ्नो टिमले समस्या भोगेका कारण पनि प्रदर्शन राम्रो हुन नसकेको प्रष्टीकरण दिए ।
‘हाम्रा खेलाडीहरूले लामो समय कोठा भित्रै रहनु पर्यो । जसले गर्दा उनीहरूको फिटनेसमा असर पर्यो । र, पनि बलरहरूले सन्तोषजनक खेल देखाए । पहिलो टेस्टमा हामीले राम्रो खेलेको हो । तर केही महत्वपूर्ण क्याच छाड्दा नतिजा हाम्रो पक्षमा आएन,’ युनिसको भनाई थियो ।
युनिसले दक्षिण अफ्रिकाविरुद्धको श्रृङ्खलाबाट आफ्नो टिम स्वभाविक लयमा फर्कने दाबी गरे । पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट श्रृङ्खला जनवरी २६ बाट सुरु हुनेछ ।
पहिलो टेस्ट कराची रंगशालामा हुनेछ भने दोस्रो टेस्ट रावलपिन्डीमा फेब्रुअरी चारदेखि आठसम्म खेलिनेछ । त्यस्तै, फेब्रुअरी ११ देखि १४ सम्म लाहोरको गद्दाफी रंगशालामा ती टि-ट्वान्टी खेल हुनेछन् । सन् २००७ यता दक्षिण अफ्रिका पहिलो पटक पाकिस्तानको भ्रमणमा आउन लागेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया