केटीएम रनको उपाधि केन्याली सिमोन र एपीएफकी पुष्पालाई
काठमाडौं–सर्वाधिक पुरस्कार राशीको केटीएम रन टेन के प्रतियोगिताको उपाधि केन्याली धावक सिमोन किप्लागेट र एपीएफ क्लबकी पुष्पा भण्डारीले जितेका छन् ।
शेर्पा आउटडोरको केटीएम सिटीले दरबारमार्गमा शनिबार आयोजना गरेको १० किलोमिटर दौडमा पुरुषतर्फ सिमोन र महिलातर्फ पुष्पा च्याम्पियन बनेका हुन्।
सिमोनले निर्धारित दुरी ३० मिनेट ५५.५८ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फको उपाधि जिते । दुर्गाबहादुर बुढाले ३० मिनेट ५७.६० सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे । तेस्रो भएका मुकेश पलले ३१ मिनेट २२.६३ सेकेण्डको समय निकाले । पुरुषतर्फ अजित कुमार यादव, सन्तोष विष्ट, सुबाश कार्की, टंक कार्की, राजेन्द्र तामाङ, सन्जिब नेपाली र दिनेश सिंह बोगटी क्रमशः चौंथो देखि दशौँ स्थानमा रहे ।
महिलातर्फको उपाधि जित्ने क्रममा पुष्पाले निर्धारित दुरी ३६ मिनेट २०.२० सेकेण्डमा पूरा गरिन् । महिलातर्फ एपीएफकै फुलमती राना ३७ मिनेट १४.०१ सेकेण्डको समयसहित दोस्रो भईन् । तेस्रो भएकी राममाया बुढाले ३९ मिनेट ४२.०८ सेकेण्डको समय निकालिन ।
महिलातर्फ बिन्द्रा श्रेष्ठ, सीमा थारु,सरस्वती बोहरा, आशा रावत,विमला कार्की, राधिका श्रेष्ठ र कृष्णश्वरी सिन्तकला चौंथो देखि दशौँ स्थानमा रहिन् । प्रतियोगिताको महिला र पुरुषतर्फको विजेताले ट्रफी सहित समान १÷१ लाख रुपैयाँ प्राप्त गरे । यस्तै दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथौं हुनेले २० हजार, पाँचौ हुनेले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।
शेर्पा आउटडोरले पहिलो पटक सर्वाधिक पुरस्कार राशीको केटीएम रन आयोजना गरेको हो । केटीएम रन दरबारमार्गबाट सुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माईतीघर, बानेश्वर पुगेर पुन माईतीघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएर सकिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया