पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको ट्रफी सार्वजनिक
कैलाली - पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ । धनगढी स्थित क्षेत्रीय रंगशालामा आयोजक सुदुरपश्चिम-११ स्पोर्ट्स क्लबले आज पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रफी सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिक गर्दै सुदुरपश्चिम-११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले भोलिदेखि आयोजना हुने खेलको सम्पुर्ण तयारी पूरा भएको बताए ।
धनगढी स्थित क्षेत्रीय रंगशालामा आयोजना हुने प्रतियोगिताको उदघाटन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने अध्यक्ष हमाले जानकारी दिए । उनले गोल्डकपको उद्घाटन खेल मनाङ मर्स्यान्दी क्लब र दिल्ली एफसी बीचको खेल हुने बताए ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । जसमा आयोजक सुदुरपश्चिम–११, जारी लिग बिजेता मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्यांदी, भारतको दिल्लीको फुटबल क्लब, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब र न्यूरोड टिमले सहभागीता जनाउने क्लबका अध्यक्ष हमालले बताए ।
नकआउट आधारमा खेलाइने प्रतियोगिताको विजेताले ट्रफी सहित २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले ट्रफी र १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने अध्यक्ष हमालले बताए ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १६ हजार ५ सय पाउने आयोजकले जनाएको छ । प्रतियोगिता हेर्न विद्यार्थीलाई १५० रुपैया र अन्यको लागि २ सय रुपैयाँको टिकट निर्धारण गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल फागुन २८ गते हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया