किन बढ्दैछ एनएसएल र क्लबबीच दुरी ?
काठमाडौं- घरेलु फुटबलकै शीर्ष डिभिजनको लिग समाप्त भएसँगै अहिले फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) हुने तरखरमा छ । लगातार मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग जितेसँगै अब क्लबहरू मोफसल प्रतियोगितामा होमिने तयारीमा छन् । कति क्लब मोफसल खेल्ने विभिन्न स्थलमा पुगिसकेका छन्।
यहिबीच आगामी २७ चैतबाट एनएसएलको दोस्रो संस्करण आयोजना हुँदैछ। नयाँ थप तीन टिम गरी १० टिमले २२ मार्की प्लेयरलाई छनोट गर्दैछन् । कुल २४० खेलाडी ए, बी र सी श्रेणीमा छुट्याएर अक्सन हुँदै छ । १५० खेलाडी विभिन्न क्लबमा खरिद हुँदै छन्। आयोजकले यस पटक खेलाडीको तोकिएको मूल्यबाट ४० प्रतिशत क्लब (सहिद स्मारक लिग क्लबमा अनुबन्धन भएको) र ६० प्रतिशत खेलाडीले पाउने बताइरहेको छ।
तर, शीर्ष डिभिजनका क्लब भने मार्की छनोट र अक्सनलाई लिएर असन्तुष्ट जनाइरहेका छन्। लिग विजेता मछिन्द्र, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, संकटा क्लब र फ्रेन्ड्स क्लबले संयुक्त विज्ञप्ति निकाल्दै सार्वजनिक चेतावनी नै दिएका छन् । उनीहरूले विज्ञप्तिको अन्तिममा ‘उत्पन्न हुने परिणामको जिम्मा स्वयं एन्फा हुने’ धारणा राखेका छन् ।
यसअघि आठ क्लबले खेलाडी दर्ता, मार्की र अक्सन नगर्न र नगराउन आग्रह गरेको थियो। यस्तै क्लबहरूले मोफसल जारी रहँदा ‘क्लबहरुको भविष्यलाई नै कुठाराघात पार्ने खालको कार्य भइरहेको हुँदा क्लबहरूको अनुमतिविना नै क्लबमा कानुनी रूपमा आवद्ध रहेका खेलाडीको बोलकबोल नगर्न’ आग्रह गरेको छ।
यता, एनएसएलले भने शुक्रबार बिहान १० बजेलाई खेलाडी अक्सन कार्यक्रम राखेको छ। जसका लागि बिहीबार सहभागी टोलीले प्रशिक्षक र मार्की खेलाडीसमेत टुंगो लगाउँदैछन् ।
विवाद जारी रहँदा काठमाडौं रेजर्सका निर्देशक तथा शीर्ष डिभिजन लिग कमिटी प्रमुख विज्ञानराज शर्माले भने प्रतियोगिता अघि नै खेलाडी फुकुवाको सबै विवाद टुंगो लगाउने र यदि क्लबले खेलाडी रिलिज गर्न नमाने सो खेलाडीले एनएसएस नखेल्ने बताए ।
‘एउटै खेलाडीको दुई फरक क्लबमा एकै समयमा सम्झौता हुन सक्दैन । एनएसएलमा खेल्ने समय बाँकी नै छ। अहिलेलाई अनुबन्धन मात्र गरेको हो। अक्सन चाडै भएकाले मार्की खेलाडी घोषणा पनि चाँडो गर्नुपरेको हो । अब सम्बन्धित् क्लबबाट रिलिजको प्रक्रिया सुरु हुन्छ। क्लबले रिलिज नगरे खेलाडीले एनएसएल खेल्दैनन्,’ शर्माले भने ।
यता, शीर्ष डिभिजनको त्रिभुवन आर्मी फुटबल क्लबमा आवद्ध गोलरक्षक विकेश कुथु काठमाडौं रेजर्सका मार्की तथा कप्तान हुन् । उनले हाल आर्मीबाट फुकुवा पत्र नलिए पनि क्लबप्रति आफू विश्वस्त रहने र यदि नदिएको खण्डमा एनएसएल छाड्ने बताए।
‘फुटबल र खेलाडीको राम्रो हुन्छ भने क्लब (आर्मी) ले अवश्य पनि सहयोग गर्छ । रिलिजको प्रक्रिया भइरहेको छ। रिलिज भएन भने एनएसएल खेल्दिनँ, ’ राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका विकेशले भने।
यता, झापा एफसीले राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्ट, विराटनगर सिटी एफसीले कप्तान तथा मार्कीमा रन्जित धिमाल र धनगढी एफसीले विशाल राई नै निरन्तरता दिएको छ । यस्तै ललितपुर सिटी एफसीले समेत राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीलाई मार्की छनोट गरेको छ।
गत सिजनका सात र थप तीन टोली गरी आसन्न संस्करणमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। आसन्न एनएसएलमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स, एफसी चितवनसँगै नयाँ क्लबहरू झापा एफसी, स्पोर्टिङ इलाम डि मेची र वीरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् । न्युज कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया