खेलकुद

खप्तड गोल्डकप फुटबल प्रतियोगितामा मनाङको रोमाञ्चक पुनरागमन

इकागज |
फागुन १९, २०७८ बिहीबार १९:४३ बजे

फाइल फाेटाे

काठमाडौं–भारतीय फुटबल क्लब दिल्ली एफसीलाई हराउँदै सहिद स्मारक ए डिभिजन लिग क्लब मनाङ मस्र्याङ्दी फुटबल क्लबले सर्वाधिक धनराशीको खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । 

धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुआत गरेको हो । मनाङले पुनरागमनमा जित निकाल्दै प्रतियोगितामा सुखद नतिजा निकालेको हो । मनाङलाई जित दिलाउन अन्जन विष्ट र विमल रानाले एक एक गोल गरे भने दिल्लीका लागि कृष्णले एक गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । 


प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान उत्रिएका दुबै टोलीबीचको प्रतिस्पर्धाको ७१ औं मिनेटमा कृष्णले गोल गर्दै दिल्ली एफसीका लागि सुरुआती अग्रता दिलाएका थिए । तर, ८२ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याउँदै खेलमा फर्किने संकेत देखाएका थिए । बराबरीपछि थप रोमाञ्चक बनेको खेलको ८५ औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई २–१ को रोमाञ्चक जित निश्चित गरे ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार बागमती युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन ।
 


Author

थप समाचार
x