खेलकुद

दक्षिण अफ्रिकी प्रशिक्षक बाउचरको दाबी

'घरेलु मैदानमा पाकिस्तान सधैँ निडर'

इकागज |
माघ ४, २०७७ आइतबार ७:२७ बजे

काठमाडौं : दक्षिण अफ्रिकी क्रिकेट टिम १३ वर्षपछि पाकिस्तान ओर्लेको छ । सन् २००७ मा पाकिस्तान विरुद्धको टेस्ट श्रृङ्खला १-० ले कब्जा गरेको पाहुना टोली फेरी त्यही लय देखाउने प्रयासमा हुनेछ । उता पाकिस्तान भने घरेलु भूमिमा बदला लिने दाउँमा छ । दुई टिमले जनवरी २६ मा कराँचीको राष्ट्रिय रंगशालामा हुने पहिलो टेस्टबाट श्रृङ्खलाको सुरुवात गर्नेछन् ।  

पहिलो पटक पाकिस्तान र दक्षिण अफ्रिका सन् १९९५ मा भएको टेस्टमा भिडेका थिए । जोहानेसवर्गको वान्डेरेर्स रंगशालामा खेलिएको खेलमा घरेलु टिम दक्षिण अफ्रिका तीन सय २४ रनले विजय भएको थियो । 


त्यसयता, यी दुई टोलीले २६ टेस्ट खेलेका छन् । जसमध्ये १५ मा दक्षिण अफ्रिकाले जित हासिल गरेको छ भने पाकिस्तान चार पटक मात्रै विजय भएको तथ्यांक छ । पाकिस्तान र दक्षिण अफ्रिकाबीच पछिल्लो टेस्ट सन् २०१९ मा खेलिएको थियो । दक्षिण अफ्रिकी राजधानीमा भएको खेलमा घरेलु टिमले १ सय ७ रनको जित दर्ता गरेको थियो । 

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ७ टेस्ट आयोजना गरेको छ । जसमा घरेलु टिमले एक टेस्टमा मात्रै जित हासिल गरेको छ भने ४ टेस्ट बराबरीमा सकिएका छन् । यसै परिप्रेछ्यमा पाकिस्तानका मुख्य प्रशिक्षक मिसवाह उल हकले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो टिम दक्षिण अफ्रिकासँगको ‘रेकर्ड’ सुधार्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् । ‘दक्षिण अफ्रिकासँगको खेल कहिले पनि सजिलो हुँदैन । उनीहरू १३ वर्षपछि पाकिस्तान आउँदैछन् । हामीसँग घरेलु मैदानमा उनीहरूलाई रोक्दै रेकर्ड सुधार्ने मौका छ । हाम्रो लक्ष्य पनि त्यही हो’ प्रशिक्षक उल हकले भने । 

दक्षिण अफ्रिकासँगको खेललाई टेस्ट वरियतामा पाकिस्तानको स्थान सुधार गर्ने मौकामा रुपमा लिएको पनि उल हकले बताए । ‘घरेलु मैदानमा हामीले उत्साहजनक प्रदर्शन गरेका छौं । चाहे श्रीलंकासँग होस या बगंलादेशका विरुद्ध होस, हाम्रा खेलाडीहरूले बलियो खेल देखाएका छन् । हामी दक्षिण अफ्रिकासँग पनि खेल्न आतुर छौं । हामी दुई टेस्टमा जित दर्ता गर्दै वरियतामा सुधार गर्ने लक्ष्यमा छौं ।’ उल हकले थपे । 

उता पाहुना टिमका प्रशिक्षक मार्क बाउचरले पाकिस्तानले घरेलु मैदानमा सधैं बलियो खेल देखाउने भएकाले उ विरुद्ध स्पष्ट योजनाका साथ उत्रनु पर्ने बताए । ‘घरमा हुने खेलमा पाकिस्तान सधैं निडर हुन्छ । श्रीलंकाविरुद्धको खेलपछि पाकिस्तानी खलाडीहरू झनै आत्मविश्वासी देखिन्छन् । त्यसकारण हाम्रा लागि घरेलु टिमसँगको खेल सहज हुने छैन’ बाउचरले भने । 

पाकिस्तानी पिच ब्याट्सम्यानका लागि उपयुक्त हुने भएकाले आफ्ना तीब्र गतिका बलरहरूले धेरै मेहेनत गर्नुपर्ने बाउचरको भनाई थियो । ‘पाकिस्तानी बलरहरूलाई घरेलु सर्मथकको साथ हुनेछ । त्यसकारण आगामी खेल हाम्रा ब्याट्सम्यानहरूका लागि परिक्षा हुनेछ ।’ बाउचरको भनाई थियो ।    


Author

थप समाचार
x