‘वायन रुनी, रिमेम्बर द नेम’
काठमाडौं : सन् २००२ मा आर्सनलविरुध्द ३० यार्डबाट गोल गर्दा वायन रुनी १६ वर्षका थिए । एभरटनका किशोर स्ट्राइकर रुनीका बारेमा त्यसबखत फुटबल दुनियाँ बेखबर थियो । ‘रुनीको नाम याद गर’ कमेन्टेटर क्लाइभ टिल्डेस्लेको सुझाव थियो । मर्सिसाइडको ठिटोले गरेको त्यो गोल कालान्तरमा अमर बन्यो । रुनी आफैं पनि स्थापित भए । त्यसपछिका १९ वर्षमा रुनीले जे जस्तो उपलब्धी हासिल गरे, त्यो धेरै किशोर फुटबलरहरूको सपना हो ।
उनै रुनीले शुक्रबार आफू खेलाडीबाट प्रशिक्षकमा रुपान्तरित भएको घोषणा गरे । ३५ वर्षीय रुनी अब डर्बी काउन्टीको स्थायी प्रशिक्षक बनेका छन् । सोही क्लबमा उनी खेलाडी-प्रशिक्षकको भूमिकामा थिए । इंगल्यान्डको राष्ट्रिय टोली तथा म्यानचेस्टर युनाइटेडका सर्वकालीन सर्वोच्च गोलकर्ता रुनीले आफ्ना पूर्वसहकर्मीहरूकै बाटो चुनेका छन् । प्रशिक्षणमा करियर खोज्ने स्टिभन जेरार्ड र फ्रान्क लामपार्डले जस्तै ।
रुनीले आफ्नो करियरमा ८ सय ८३ खेल खेल्दै ३ सय ३६ गोल गरेका छन् । युनाइटेड र इंगल्यान्डका कीर्तिमानी गोलकर्ता रहेका रुनीले प्रिमियर लिगमा समेत दोस्रो धेरै गोल गरेका छन् । तथ्यांकलाई आधार मान्ने हो भने रुनीलाई प्रिमियर लिगकै सर्वकालीन महान् खेलाडीसमेत भन्न सकिन्छ । तर धेरैजना यो दाबीमा सहमत नहुन सक्छन् । किनभने उनलाई मन नपराउने इङ्ग्लिस समर्थककाे संख्या पनि बाक्लै छ । विशेषगरी सन् २०१० को विश्वकप पछि । जहाँ उनले इङ्गलिस समर्थकहरूको व्यवहारको आलोचना गरेका थिए । त्यसो त ‘वाज्जा’ सबै मानिसलाई खुसी राख्नुपर्छ भन्ने मान्यतालाई अस्वीकार गर्ने खेलाडी हुन् ।
रुनी एकल प्रयासमा आफ्नो टिमलाई कुनै पनि खेल जिताउने सामर्थ्य राख्थे । फुटबललाई जतिुकै टिम गेम भनिए पनि, समर्थकहरू सधैं एउटा नायकको खोजीमा हुन्छन् । धेरै समय रुनी त्यही नायक रहे ।
रुनीले शुक्रबार खेलाडी जीवनबाट सन्न्यास लिएको घोषणा गर्दा उनको नाममा लेखिएका सन्देशहरूको बाढी नै आयो । धेरैजसो सन्देशमा ‘लेजेन्ड’, ‘सर्वकालीन महान् खेलाडी’ जस्ता शब्दावलीको प्रयोग गरियो । हुन पनि रुनी यी विशेषणबाट सम्मानित हुन योग्य छन् । युनाइटेडकै फरवार्ड मार्कस रासफोर्डले रुनीसँग खेल्न पाउनुलाई सपना पूरा भएको भन्न भ्याए । इंगल्यान्ड र युनाइटेडका समर्थकहरू रुनीले गरेका आकर्षक गोलहरूको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न व्यस्त देखिए । रुनीले राष्ट्रिय टोली र मुलुककै सर्वाधिक सफल क्लबका लागि धेरै आकर्षक गोल गरेका छन् । त्यसकारण उनले गरेका आकर्षक गोलहरूको सूची बनाउने कार्य कठिन छ । त्यही कठिन काम समर्थकहरूले रोजे ।
रुनी गोल गर्न वा गोलका लागि पास निकाल्नेमा त निपुण थिए नै । खेलमा उनले देखाउने ऊर्जा र प्रतिबध्दता पनि सधैं प्रशंसनीय रह्यो । त्यसैले होला उनलाई एभरटनदेखि डर्बी काउन्टीसम्म उत्तिकै स्नेह देखाइयो, सम्मान गरियो । रुनी एकल प्रयासमा आफ्नो टिमलाई कुनै पनि खेल जिताउने सामर्थ्य राख्थे ।
फुटबललाई जतिुकै टिम गेम भनिए पनि, समर्थकहरू सधैं एउटा नायकको खोजीमा हुन्छन् । धेरै समय रुनी त्यही नायक रहे । किनभने उनी एक आक्रमण वा पासले खेल परिवर्तन गरिदिन सक्थे । महादेशीय क्लब प्रतियोगितामा वा प्रिमियर लिगका महत्वपूर्ण खेलहरूमा, उनले त्यस्तो सामर्थ्यको प्रदर्शन गरेकै हुन् । युरो २००४ मा उनी घाइते नभएको भए, इंगल्यान्डले सन् १९६६ पछिको पहिलो उपाधि जित्न बेर लगाउँदैनथियो ।
प्रतिभा भएर पनि राष्ट्रिय टोलीका लागि अपेक्षाकृत योगदान गर्न नसक्दा जो कोही खेलाडी पनि निराश हुन्छन् । रुनी पनि निराश भए । किनभने उनले २००४ पछिका प्रतियोगितामा आफ्नो स्तरको खेल देखाउनै सकेनन् । तर क्लबका लागि भने उनी सधैं उस्तै लयमा रहे । प्रत्येक साता गोल गर्ने, असिस्ट दर्ता गर्ने । त्यसकै नतिजा हो, युनाइटेडका लागि उनले १३ वर्षमा जितेका पाँच लिग उपाधि, एक च्याम्पियन्स लिग, तीन लिग कप, एक एफए कप र एक युरोपा लिग । अर्को वाक्यमा भन्दा, सर एलेक्स फर्गुसनले युनाइटेडमा प्राप्त गरेको सफलताको महत्वपूर्ण नायक रुनी थिए ।
रुनीले राष्ट्रिय टोली र मुलुककै सर्वाधिक सफल क्लबका लागि धेरै आकर्षक गोल गरेका छन् । त्यसकारण उनले गरेका आकर्षक गोलहरूको सूची बनाउने कार्य कठिन छ ।
प्रिमियर लिग इतिहासकै सफल प्रशिक्षकको नेतृत्वमा करिब डेढ दशक खेलेका रुनीले आवश्यकीय नयाँ निर्णय लिएका छन् । अब उनले खेलाडीका रूपमा प्राप्त गरेको स्नेह प्रशिक्षक भएपछि पाइरहने चुनौतीको सामना गर्न तयार भएको सन्देश दिएका छन् । रुनीको प्रशिक्षक बन्ने निर्णय नयाँ होइन । उनले यसका लागि लामो समयदेखि तयारी गरिरहेका थिए । लुई भान हाल युनाइटेडको प्रशिक्षक रहँदा रुनी क्लबको प्रशिक्षण टोलीको बैठकमा सहभागी हुन्थे । अमेरिका गएपछि पनि उनको सिकाइ जारी रह्यो । एभरटन फर्केपछि उनी क्लबका प्रशिक्षकहरूसँग सधैं नजिक रहे ।
रुनी सफल प्रशिक्षक बन सक्छन्, सक्दैनन् भन्ने अनुमान चलिरहँदा उनको पूर्व गुरुको प्रतिक्रिया आएको छ । ‘रुनीको फुटबल बुझ्ने क्षमताका बारेमा त कुरै गर्नु परेन । उनी असाधारण प्रतिभा हुन् । उनले खेलेर धन र सम्मान कमाएका छन् । त्यसकारण उनी तिनको प्राप्तिका लागि प्रशिक्षणमा गएका होइनन् । प्रशिक्षक बन्ने उनको सपना हो । जुन महत्वपूर्ण छ ।’ फर्गुसनले भनेका छन् ।
रुनीले खेलाडी रहँदा खेलप्रति देखाएको लगाव र प्रेम सधैं सराह्रनीय रह्यो । प्रशिक्षकको जीवन अँगालेपछि उनी उस्तै रहन्छन्, रहँदैनन्, अहिले नै अनुमान गर्दा हतार गरेको ठहरिन्छ । तर उनी आफैंले भनिसकेका छन्, ‘म परिवर्तन हुन्न ।’ मतलव, रुनीले नयाँ करियरमा पनि उस्तै जोस देखाउनेछन् ।
आफ्नो खेलजीवनमा नाम कमाएका धेरै पूर्वखेलाडी प्रशिक्षणमा हाम फालेका छन् । तीमध्ये असफल हुनेको सूची सानो छैन । रुनीको प्रशिक्षणमा भविष्य कस्तो रहँला ? जे जस्तो भए पनि उनको नाम बिर्सिइने छैन । किनभने कमेन्टेटर क्लाइभ टिल्डेस्लेको सुझाव सबैले पालना गरेका छन् । टिल्डेस्लेको यो सझाव ‘वायन रुनी, रिमेम्बर द नेम’ बिर्सने खाल्को पनि त छैन ।
गोलडट कमबाट
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया