खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र बाग्मती प्रदेश बिजयी

इकागज |
माघ ४, २०७७ आइतबार १६:३९ बजे

काठमाडौँ : राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशले जित निकालेका छन् । 

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशलाई ८० रनले हरायो । जारी प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो । यस्तै आइतबारकै अर्को खेलमा विभागीय टोली तथा साविकको विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्‍यो । यो बाग्मतीको प्रतियोगितामा पहिलो जित हो ।


आर्मीले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको कर्णालीले मात्र १ सय १५ रन जोड्न सक्यो । ३३.३ ओभरमा कर्णालीले सबै विकेट गुमाउँदै १ सय १५ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रन बनाए । ओपनर हेमन्त ओलीले १६ तथा दिनेश अधिकारीले १२ रनको दोहोरो स्कोर गरे । यस बाहेकका ब्याट्सम्यानले दोहोर अंकको स्कोर गर्न सकेनन् । 

कर्णालीको इनिङ्सलाई  रोक्न आर्मीका सुशान भारीले सर्वाधिक ४,  शहब अलमले तीन, रोहित पौडेलले दुई तथा हरि चौहानले एक विकेट लिए । ६ ओभर बलिङ गरेको जितेन्द्र मुखियाले दुई मेडन राख्दै १६ रन खर्चिए ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रन जोडेको थियो । आर्मीका लागि ओपनर अनिल कुमार मण्डले ८९ रन बनाए ।  १ सय १४ बल सामना गरेका अनिलले १४ चौका प्रहार गरे । कप्तान विनोद भण्डारीले ४१, राजेश पुलामीले १६, लोकेश बमले १३ तथा रोहित पौडेलले ११ रन प्रहार गरे । अन्य ब्याट्सम्यान १० रन भन्दा कम रनमा पवेलियन फर्किएका थिए ।

बलिङ तर्फ कर्णाली प्रदशेका लागि दिनेश अधिकारी, राज शाह र दिवन पुनले समान २/२ र रविन्द्र शाही, युनिस सिंह र अनुज चुनाराले एक/एक विकेट लिए । 

पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्‍वविद्यालयको मैदानमा भएको अर्को खेलमा पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बागमतीले सुखद सुरुवात गरेको छ । पुलिसले दिएको १ सय १२ रनको सामान्य लक्ष्य बागमतीले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । 

बागमतीको जितमा पृथु बास्कोटाले अविजित ४८ रन बनाए । इशान पाण्डेले अविजित १७, पारस खड्काले १७ र आदील खानले १२ रन जोडे । आकाश थापा १ रनमा आउट भए । पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १/१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पुलिसले २९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ११ रन बनायो । पुलिसका लागि ओपनरद्वय सुनिल धमलाले २२ बलमा ३ चौकासहित १७ तथा कुशल भूर्तेलले ३९ बलमा २ चौकासहित १७ रन बनाए । अमित श्रेष्ठ ६ रनमा पेविलियन फर्किदा दीपेन्द्र सिंह ऐरीले ३९ बलमा २ चौकासहित २१ रनको योगदान गरे ।आरिफ शेख २१, अनिल साह १, कप्तान मन्जित श्रेष्ठ ५, रसिद खान १, ललित राजवंशी १ रन बनाएर आउट भए । सागर ढकाल १ रनमा अविजित रहे । 

बागमतीका नन्दन यादवले ९ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए । तिलक भण्डारीले ७ ओभर ३ बलमा १ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए । रामनरेश गिरीले ६ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

प्रतियोगितामा सोमबार कीर्तिपुरको मैदानमा सुदुर पश्‍चिम प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेश र प्रदेश १ बीच मूलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ ।


Author

थप समाचार
x