खेलकुद

प्रधानमन्त्री कपमा प्रदेश १ को दोस्रो हार

इकागज |
माघ ५, २०७७ सोमबार १७:५ बजे

काठमाडौं : प्रदेश-१ ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो पराजय व्यहोरेको छ । पहिलो खेलमा शसस्त्र प्रहरीको एपीएफसँग पराजित भएको प्रदेश-१ ले सोमबार गण्डकी प्रदेशसँग दुई विकेटले हार्‍यो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको प्रदेश-१ ले निर्धारित ओभरमा सम्पूर्ण विकेट गुमाउँदै एक सय दुई रन बनायो । जवाफी ब्याटिङमा उत्रेको गण्डकीले आठ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । 


प्रदेश-१ लाई सस्तैमा समेट्न सुवास भण्डारी र विशाल पौडेलले चार–चार विकेट लिए । त्यस्तै विपिन खत्रीले दुई विकेट हात पारे । 

प्रदेश-१ ले औसत सुरुवात गर्दा ओपनरद्वय मिनास थापा र दिपक पासवानले क्रमशः २२ र ११ रन बनाए । कप्तान सिदान्त लोहनीले सर्वाधिक २४ रन जोड्दा शुभान्कर उराउले १२ तथा दिपेश कडेलले १० रनको योगदान गरे । पराजित प्रदेश– १ का लागि बाँकी कुनै पनि ब्याट्समयानले दोहोरो अंक बनाउन सकेनन् । 

उता गण्डकीलाई जित दिलाउन ओपनर अर्जुन कुमालले ३५ रन बनाए । कुमालले ६८ बलको समाना गर्दा पाँच चौका व्रहार गरे । त्यस्तै विजय टिमका लागि दिपक डुम्रेले पनि ३५ रन नै जोडे । मध्यक्रमका अभिषेक थापाले अविजित रहँदै १३ बनाउँदा कप्तान विपिन खत्रीले आठ रन मात्रै जोड्न सके । प्रदेश १ का उराउले सर्वाधिक दुई विकेट हात पारे भने कडेल र हेमन्त राईले एक-एक विकेट लिए । 

प्रदेश-१ माथि जित दर्ता गर्दा गण्डकीको दुई खेलबाट दुई अंक भएको छ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको गण्डकीले प्रतियोगितामा पहिलो जित हात पारेपछि सेमिफाइनल प्रवेश सम्भावना जिवित बनेको छ । 

सोमबारै भएको अर्को खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि एक सय ८० रनको जित दर्ता गर्‍यो । बागमतीले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै दुई सय ९९ रन बनायो ।सुदूरपश्चिम भने २१ ओभरमा सबै विकेट गुमाएर एक सय १९ रनमा खुम्चियो । 

टस हारेर ब्याटिङ रोजेको बागमतीका लागि पृथु बास्कोटा र ओपनर आदिल खानले अर्धशतक प्रहार गरे । बास्कोटाले ९४ बल सामना गर्दै दुई छक्का र १० चौका प्रहार गरे । त्यस्तै, ओपनर खानले ८६ बलमा १० चौका हिर्काए । विजयी बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन बनाए । 

जवाफी ब्याटिङमा उत्रेको सुदूरपश्चिमले सुरुवाती चार ब्याट्सम्यान शुन्यमा आउट भए । पराजित सुदूरपश्चिमका लागि जोशीले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए भने अर्जुन साउदले ३१ रनको योगदान गरे । त्यस्तै किरण ठगुन्नाले २४ रन जोड्दा बाँकी खेलाडीले दोहारो अंक बनाउन सकेनन् । 

सुदूरपश्चिमविरुध्दको जितमा नायक बनेका राम नरेश शाक्यले चार विकेट लिए भने नन्दन यादवले दुई विकेट हात पारे । त्यस्तै, दिपेश श्रेष्ठ, तिलक भण्डारी र विपिन आचार्यले एक-एक विकेट लिए । 

जितपछि बागमती चार अंक बटुल्दै समूह बी को शीर्षस्थानमा छ । चार टिम रहेको समूहमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम जित विहिन छन् भने प्रदेश २ ले एक खेल पनि खेलेको छैन ।     
 


Author

थप समाचार
x