खेलकुद

अष्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेट श्रृङ्खला भारतले जित्यो

इकागज |
माघ ६, २०७७ मंगलबार १४:१७ बजे

काठमाडौं : अष्ट्रेलियासँगको चार खेलको टेस्ट क्रिकेट श्रृङ्खला भारतले जितेको छ । ब्रिसबेनमा भएको चौथो टेस्टमा अष्ट्रेलियाले दिएको ३ सय २८ रनको लक्ष्य भारतले ७ विकेट गुमाएर पूरा गर्दै श्रृङ्खला २-१ ले जितेको हो । ब्रिसबेनमा भारतले पहिलोपटक ऐतिहासिक जित हासिल गरेको हो । 

भारतलाई जित दिलाउन रिषभ पन्तले नटआउट ८९ रनको योगदान दिए । आक्रामक ब्याटिङ गरेका उनले ९ चौका र १ छक्का समेत हिर्काए । यस्तै ओपनर व्याट्सम्यान शुभमान गिलले ९१ र चेतेश्वर पूजाराले ५६ रनको योगदान दिए ।


अष्ट्रेलियाका प्याट कुमिन्सले ४ विकेट हात पारेपनि टोलीको हार टार्न सकेनन् । पहिलो पालीमा अष्ट्रेलियाले ३ सय ६९ रन बनाउँदा भारतले ३ सय ३६ रन बनाएको थियो । दोस्रो पालीमा अष्ट्रेलिया २ सय ९४ रनमै अलआउट भएपछि भारतले ३ सय २८ रनको मध्यम लक्ष्य पाएको थियो ।

जुन भारतले गिल, पूजारा र पन्तको अर्धशतक मद्धतमा सहजै भेट्टायो । ब्रिसबेनमा भारतले पहिलो पटक जित हात पार्दा सर्वाधिक धेरै रनको लक्ष्य भेट्टाउने किर्तिमान पनि बनाएको छ । ब्रिसबेनमा यसअघि कुनै पनि टिमले २५० भन्दा ठूलो लक्ष्य भेट्टाउन सकेका थिएनन् ।

सन् १९५१ मा वेष्ट इण्डिजविरुद्ध घरेलु टिम अष्ट्रेलियाले २ सय ३६ रनको लक्ष्य भेट्टाएको थियो । तर भारतले पहिलो पटक ब्रिसबेनमा ३ सय २८ रनको लक्ष्य पनि सहजै भेट्टाएको हो । भारतले अष्ट्रेलियामा दोस्रोपटक ऐतिहासिक टेस्ट श्रृङ्खला जितेको हो । यसपटक कप्तानी आजिन्क्या रहाणेले गरेका छन् । 

भारतलाई श्रृङ्खला नै जिताएका पन्त म्यान अफ द म्याच घोषित भए । म्यान अफ द श्रृङ्खला भने अष्ट्रेलियाका बलर प्याट कुमिन्स बने । यसअघि पहिलो टेस्ट अष्ट्रेलियाले जितेको थियो भने दोस्रो टेस्ट भारतले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो । चौथो टेस्ट भारतले जितेसँगै श्रृङ्खला नै आफ्नो पक्षमा पारेको हो । 

दुई बर्ष अघि विराट कोहलीको कप्तानीमा भारतले अष्ट्रेलियाली भूमिमा पहिलोपटक टेस्ट क्रिकेट श्रृङ्खला जितेको थियो । (इएसपीएन क्रिकइन्फोको सहयोगमा)


Author

थप समाचार
x