खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी र कर्णाली प्रदेश विजयी

इकागज |
माघ ६, २०७७ मंगलबार १७:१ बजे

काठमाडौँ : कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा पहिलो जित निकालेका छन् । कर्णालीले मूलापानी मैदानमा गण्डकी प्रदेशलाई ५ विकेटले र लुम्बिनी प्रदेशले प्रदेश-२ लाई ७७ रनले पराजीत गरे । 

मूलपानीको मैदानमा गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो । कर्णालीको जितमा हिमान्सु शाहीले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । विपिन रावल अर्धसताक बनाउन एक रनले चुके । राज शाहले ३२ र हेमन्त ओली २९ रन बनाए । बलिङतर्फ गण्डकीका विपिन खत्रीले ४ र सुवास भण्डारीले १ विकेट हात पारे ।


यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२.३ ओभरमा सबै विकेट गुमाएर  २ सय ४ रन बनाएको थियो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रन बनाए । ओपनर अर्जुन कुमालले ४६ र कप्तान विपिन खत्रीले ३२ रन बनाए ।

विशाल पौडेल १५ र दिनेश बुढामगर १० रनमा आउट भए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए । अनुज चुनरा र दिवन पुनले समान २/२ विकेट लिए भने रवीन्द्र शाहीले एक विकेट लिए । 

जितसंगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ । समूह ‘ए’ मा रहेको कर्णाली पहिलो खेलमा आर्मी ८० रनले पराजीत भएको थियो । उता तीन खेल खेलेको गण्डकीको यो दोस्रो हार हो । गण्डकीले ३ खेलमा २ अंक जोडेको छ । गण्डकी तालिकाको चौंथो स्थानमा रहेको छ ।

२ सय ५८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश-२ ले ४२.२ ओभरमा समेटिँदा मात्र १ सय ८० रन  जोड्न सक्यो । अन्तिम विकेटका लागि विवेक यादवले बिस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय इनिङ खेले । ४९ बलमा ५१ रन जोडेका विवेकले ३ चौका र ३ छक्का प्रहार गरे ।

यसअघि ओपनरद्वय सुधीर चौधरी र हरिशंकर शाहले राम्रो सुरुआत गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नतिजा सुम्पिएको हो । सुधिरले ४२ रन जोड्दा हरिशंकरले २२ तथा मेहबुब अलामले ३१ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक स्कोर बटुल्न सकेनन् ।

प्रदेश-२ लाई सस्तैमा समेट्न क्रममा लुम्बिनीका अनिल खरेलले सर्वाधिक ४ र बिक्रम भुसाल र दिपेन्द्र राउतले दुई/दुई तथा अमित तामाङ र कृष्ण कार्कीले एक/एक विकेट आफ्नो नाममा लेखाए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले पुरै ५० ओभर खेलेर  ९ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रन र सौरभले ५६ रन बनाए । यस्तै बिक्रम भुसालले ३६ रन बनाए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडे ।

बलिङतर्फ प्रदेश-२ का हरिशंकर साहले ३ विकेट लिए भने  त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट हात पारे भने अन्य तीन बलरको नाममा एक एक विकेट रह्यो । पहिलो जित निकालेको  लुम्बिनी समूह ‘बी’ तालिकाको दोस्रो स्थानमा पुगेको छ । पराजीत प्रदेश २ तालिकामा अंकविहिन छ ।

प्रतियोगितामा बुधबार त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र सुदूरपश्‍चिम प्रदेश तथा मूलपानी क्रिकेट मैदानमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्बल र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । 


Author

थप समाचार
x