खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको रवाफ कायमै, पुलिसको पहिलो जित

इकागज |
माघ ७, २०७७ बुधबार १७:४ बजे

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार दुई विभागीय टोलीले जित दर्ता गरेका छन् । दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले सुदुरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गर्‍यो भने त्रिभुवन आर्मी क्लबले प्रदेश-१ लाई चार विकेटले हरायो । 

प्रतियोगितामा पहिलो जित निकालेको पुलिसले सेमिफाइनल प्रवेशको सम्भावनालाई जिवित बनाएको छ । समूह बी मा दुई खेलबाट दुई अंक बटुलेको पुलिस तेस्रो स्थानमा छ । सो समूहमा दुई जितका साथ बागमती प्रदेश शीर्षस्थानमा छ । 


उता लगातार तीन खेल जितेको आर्मीले अन्तिम चार प्रवेश लगभग पक्का गरेको छ । समूह ए मा आफ्नो अन्तिम खेलमा आर्मीले अर्को विभागीय टोली शशस्त्र प्रहरीको एपीएफको समाना गर्नेछ । आर्मीसँग पराजित प्रदेश-१ अंक विहिन छ भने समूहकै अन्य टिम एपीएफ, गण्डकी र कर्णलीको दुई-दुई अंक छ । 

बुधबारको पहिलो खेलमा ६ ब्याट्सम्यान शून्यमा आउट हुँदा सुदुरपश्चिमले ३३.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै एक सय १० रन मात्रै बनाउन सक्यो । जवाफी ब्याटिङमा उत्रेको पुलिसले एक विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । 

टस जित्दै बलिङ रोजेको पुलिसले सुदुरपश्चिमलाई सस्तोमा समेट्दा सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले धारिलो बलिङ गर्दै चार-चार विकेट लिए । उत्कृष्ट बलिङ गरेका ढकाल र ऐरीले क्रमशः १८ रन र १० रन खर्चर्दै सुदुरपश्चिमको इनिङ ध्वस्त बनाए । खडक बोहोराले सुदुरपश्चिमका लागि ४० रन र सन्जु दमाईले ३५ रन बनाउनु बाहेक पराजित टिमका लागि कसैले पनि उल्लेख्य रन जोड्न सकेनन् ।  

उता पुलिसलाई ओपनरद्धय सुनिल धमला र कुशल भुर्तेलले उत्कृष्ट सुरुवात दिलाए । धमलाले ५७ बलको समाना गर्दै ५३ रन बनाए भने अविजित रहेका भुर्तेलले ४४ बलमा ५१ रन बनाए । ९७ रनको साझेदारी गरेका धमला र भुर्तेलले ३ छक्का र १९ चौका प्रहार गरे । धमलाको नाममा दुई छक्का र ६ चौका रह्यो भने भुर्तेलले एक छक्का र नौ चौका हिर्काए । सुदुरपश्चिमका लागि एक मात्र विकेट हेमन्त धामीले लिए । 

कीर्तिपुरको टियु क्रिकेट मैदानमै सम्पन्न अर्को खेलमा टस जितरे ब्याटिङ रोजेको प्रदेश-१ ले ४०.१ ओभरमा सबै विकेट गुमाएर एक सय ३१ रन बनायो । आर्मीले २९.५ ओभरमा ६ विकेटको क्ष्तिमा लक्ष्य पुरा गर्‍यो । प्रदेश-१ लाई सस्तोमा समेट्न प्लेयर अफ दि म्याच घोषित शहबाब आलमले चार विकेट लिए भने आकाश चन्दले तीन विकेट हात पारे ।   

लगातार तेस्रो पराजय भोगेको प्रदेश १ का लागि मध्यक्रमका विवेक मेहेताले सर्वाधिक ५० रन बनाए भने फिर्दोस अन्सारीले ३२ रन जोडे । जवाफी ब्याटिङमा उत्रेको आर्मीले सन्तोषजनक सुरुवात गर्न सकेन । ओपनर अनिल मण्डल शुन्यमा आउट भए भने अर्का ओपनर लोकेश बमले १३ रन मात्रै जोड्न सके । 

त्यसपछि ब्याटिङ गर्न आएका हरी चौहान र कप्तान विनोद भण्डारी पनि सस्तैमा पभेलियन फर्केपछि आर्मीको इनिङ सम्हाल्न रोहित पौडेल आइपुगे । पौडलले ३१ बल समाना गर्दा ३६ रन जोडे भने भिम शार्कीले २९ रनको योगदान गरे । राजेश पुलामीको अविजित २४ रन पनि आर्मीका लागि महत्वपूर्ण रह्यो । 

प्रदेश १ का अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कडेल र शुभकंर राओले एक-एक विकेट लिए ।  


Author

थप समाचार
x