खेलकुद

भण्डारीको ह्याट्रिकमा एपीएफको सहज जित

इकागज |
माघ ८, २०७७ बिहीबार १६:४० बजे

काठमाडौँ : सावित्रा भण्डारीको ह्याट्रिकको सहयोगमा शसस्त्र प्रहरीको एपीएफ क्लबले महिला राष्ट्रिय लिगमा बिहीबार चन्द्रपुर नगरपालिका माथि ६-० को जित दर्ता गरेको छ ।  सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्‍न खेलमा एपीएफले स्वभाविक जित निकाल्दा भण्डारी बाहेक अनिता बस्‍नेत, अन्जली योन्जन र प्रिती राईले एक-एक गोल गरे । 

राष्ट्रिय टोलीकी स्टार स्ट्राइकर भण्डारीले खेलको १४ औ मिनेटमै गोलको खाता खोलिन् । विभागिय टोलीलाई सुरुवाती अग्रता दिलाउन भण्डारीले योन्जनको क्रसमा सुन्दर गोल गरिन् । त्यसको आठ मिनेटपछि योन्जनले एपीएफको दोस्रो गोल गरिन् । दोस्रो हाफमा भण्डारीले थप दुई गोल गरिन् ।  


विजेता एपीएफकी प्रशिक्षक भगवती थापाले पहिलो खेलमै जित दर्ता गरेर आफुहररू लिग उपाधि दाबेदार भएको सन्देश दिन सफल भएको प्रतिक्रिया दिइन् । ‘निश्चय पनि लिगको पहिलो खेल जुनसुकै टिमका लागि पनि महत्वपूर्ण हुन्छ । त्यसकारण यो खेल हाम्रो लागि महत्वपूर्ण थियो । पहिलो हाफमा हामीले स्वभाविक खेल खेल्न नसके पनि दोस्रो हाफमा लय समात्यौं,’ थापाले भनिन् । 

खेलमा ह्याट्रिक गरेकी स्ट्राइकर भण्डारीले धेरैपछि मैदानमा फर्कन पाउँदा खुशी लागेको बताईन् । ‘धेरैपछि महिला फुटबल फर्केको छ । त्यसले अवश्य पनि खुशी बनाएको छ । अनि प्रतियोगिताको स्तर पनि बढेको पाए । चन्द्रपुर बलियो टिम हो । र पनि हामीले खेल जित्यौं । टिम र ब्यक्तिगत प्रदर्शन दुबै राम्रो रह्यो ।’ भण्डारीले भनिन् । 

उता पराजित टिमका प्रशिक्षक नुरराज काफ्लेले खेल दौरान आफ्नो महत्वपूर्ण खेलाडी घाइते हुँदा प्रदर्शनमा असर परेको बताए । ‘समिक्षा (घिमिरे) हाम्रो मुख्य रक्षक हुन् । उनले मैदान छाडेपछि हामी थप दबाबमा पर्‍यौं । हाम्रो खेलाडीहरु एपीएफसँग भिड्न शारीरिक रुपमा तयार नभएको पनि देखियो,’ काफ्लेले भने ।


Author

थप समाचार
x