प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको प्रभावशाली जीत
एपीएफले ६ विकेटले हरायो गण्डकीलाई
काठमाडौं : सुनिल धमलाले शतक प्रहार गरेपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विभागीय टोलीले लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गर्यो ।
टस हारेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३१० रन बनाएको थियो । प्रतियोगितामा अहिलेसम्मकै ठूलो योगफल बनाएको पुलिसका लागि प्लेयर अफ दि म्याच घोषित धमलाले एक सय चार रन जोडे । पुलिसले दिएको विशाल लक्ष्य पछ्याएको लुम्बिनीले सात विकेट गुमाएर दुई ३६ रनमात्र बनाउन सक्यो ।
जितसँगै पुलिसले तीन खेलबाट ६ अंक बनाएर समूह बी को दोस्रो स्थानमा उक्लियो । पहिलो खेलमा लुम्बिनी प्रदेशसँग पराजीत भएको पुलिसले दोस्रो खेलमा सुदुरपश्चिमलाई हराएको थियो ।
प्रतियोगितामा शतक बनाउने दोस्रो खेलाडी बन्ने क्रममा धमलाले एक सय ४५ बलमको सामना गर्दै सात चौका र एक छक्का प्रहार गरे । धमलाले कुशल भुर्तेल र अमित श्रेष्ठसँग क्रमशः २७ रन र ५७ रनको साझेदारी गरे । त्यस्तै धमलाले दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि एक सय २९ रनको साझेदारी गरे । ऐरीले पुलिसका लागि ८५ रनको योगदान गरे । विजेता पुलिसका लागि पवन सराफले अविजित रहँदै ५० रन बनाए । सराफले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा अर्धशतक प्रहार गरे ।
लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दीपेन्द्र रावत र सौरभ खनालले एक-एक विकेट लिए ।
पराजित लुम्बिनीका लागि सौरभ खनालले सर्वाधिक ७४ रन बनाउँदा देव खनालले ४९ रन जोडे । त्यस्तै, सन्दिप रजाली र कप्तान कृष्ण कार्कीले समान ४० रन जोडे । ओपनरद्वय सन्दिप सुनार र सुशान्त थापालाई कुल चार रनमा गुमाएको लुम्बिनीका अन्य ब्याट्समयानले भने उल्लेखिय रन बनाउन सकेनन् ।
पुलिस क्लबका सराफ र रशिद खानले समान दुई विकेट लिए । त्यस्तै, लालितनारायण राजवंशी, सागर ढकाल र दीपेन्द्रसिंहले समान एकएक विकेट लिए ।
बिहीबारकै अर्को खेलमा शशस्त्र प्रहरीको एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्यो । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा एक सय ६ रनमा समेटियो । एपीएफले १७.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो ।
समूह ए मा तेस्रो पराजय भोगेको गण्डकीलाई सस्तैमा समेट्न एपीएफका कमल ऐरीले ११ रन खर्चेर चार विकेट हात पारे । ऐरीको बलमा गण्डकीका ओपनरद्वय समिर कँडेल र अर्जुन कुमाल पभेलियन फर्किए । कँडेलले पराजीत टिमका लागि ३६ रनको योगदान गरे भने कुमाल शुन्यमा आउट भए ।
गण्डकीका लागि विष्णु पान्डे र दिपेश खत्रीले समान १५ रनको योगदान गर्दा दिनेश बुढामगरले १२ रन जोडे । गण्डकीका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।
एपीएफका लागि अविनाश बोहोरा र कप्तान शरद भेष्वाकरले दुई-दुई विकेट लिए भने किशोर महतोले एक विकेट हात पारे । उता एपीएफका लागि आशिफ शेखले सर्वाधिक ७८ रन जोडे । ओपनर सुवास खकुरेल र रित गौतमलाई शुन्यमा गुमाएको विभागीय टिमका लागि सुमित महर्जनले १८ रन जोडे । हारसँगै प्रतियोगिताबाट बाहिरिएको गण्डकीका लागि चन्द्र पौडेल र विष्णु पौडेलले समान दुई विकेट हात पारे ।
लगातार दोस्रो जित हासिल गरेको एपीएफ समूह ए मा चार अंकका साथ दोस्रो स्थानमा छ । समूहमा अर्को विभागीय टिम त्रिभुवन आर्मीको तीन खेलबाट ६ अंक रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया