खेलकुद

अस्ट्रेलिया र भारतको क्रिकेट डिप्लोमेसी

इकागज |
माघ ९, २०७७ शुक्रबार १४:४१ बजे

काठमाडौँ : अस्ट्रेलियालाई उसकै मैदानमा खेलिएको टेस्ट श्रृङ्खलामा पराजित गरेपछि भारतीय टिमको चौतर्फी प्रशंसा भयो । ब्रिसबेन क्रिकेट मैदानमा पछिल्लो ३२ वर्षमा कुनैपनि टिमले अस्ट्रेलियालाई हराउन नसकेको अवस्थामा भारतले त्यो सफलता हासिल गरेपछि रबि शास्‍त्रीका युवा खेलाडीहरूले झनै ठूलो वाहवाही पाए । 

कोभिड–१९ (कोरोना भाइरस) महामारीका बीच भएको यो श्रृङ्खलाले अस्ट्रेलिया र भारतलाई थप नजिक बनाएको विश्लेषण गरिदैछ । त्यसो त अन्तराष्ट्रिय राजनीतिक फोरमहरूमा पनि यी दुई मुलुक क्रमशः नजिक हुँदै गइरहेका छन् । त्यसकारण पनि केही दिनअघि सम्पन्न यस टेस्ट श्रृङ्खलालाई क्रिकेट डिप्लोमेसी पनि भनिन थालेको छ । दुबै मुलुकका सञ्चार माध्यममा । 


भारतीय क्रिकेट टिमको सफलतामा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले खुशी ब्यक्त गरेका छन् । बुधबार भारतीय समकक्षी नरेन्द्र मोदीलाई ट्याग गर्दै मोरिसनले टुइटरमा लेखेका छन्, ‘नरेन्द्र मोदी र भारतीय क्रिकेट टिमलाई बधाई दिन चाहान्छु । अस्ट्रेलिया र भारतबीचको टेस्ट निकै नै प्रतिस्पर्धात्मक रह्यो । दुबै टिम र खेलाडीहरु उत्कृष्ट छन् । टिम पेन र अन्य खेलाडीहरू प्रति मेरो सहानुभुती छ । उनीहरुले आउँदा खेलहरुमा अवश्य राम्रो प्रदर्शन गर्नेछन् ।’ 

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले मोरिसनलाई धन्यबाद भनेका छन् । मोदीले सोही मौकामा अस्ट्रेलिया क्रिकेट खेलमा प्रतिद्वन्द्वी भए पनि मैदान बाहिर भने भरपर्दो मित्र भन्न भ्याए । अस्ट्रेलिया र भारतबीच पछिल्लो मिय बढ्दै गएको घनिष्ठतालाई दुई प्रधानमन्त्रीको टुईट वार्ताले थप प्रष्टाएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । एसिया–प्रशान्त क्षेत्रमा बढ्दै गएको चीनको सक्रियता र त्यसले पार्ने प्रभावका विषयमा गमभीर रहेका अस्ट्रेलिया र भारत आपसी सहकार्यलाई बलियो बनाउनु पर्नेमा एकमत छन् । ब्यापार, रक्षा सम्बन्ध लगायतका माध्यमबाट सहकार्यलाई थप बलियो बनाइरहेका अस्ट्रेलिया र भारतले क्रिकेट खेललाई पनि डिप्लोमेसीको महत्वपूर्ण अंग रहेको संकेत दिन खोजिरहेका छन् । 


Author

थप समाचार
x