प्रधानमन्त्री कपमा प्रदेश १ को पहिलो जित
काठमाडौँ : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले पहिलो जित निकालेको छ । यसअघि प्रतियोगितामा लगातार तीन हार ब्यहोरेको प्रदेश १ ले शुक्रबार कर्णली प्रदेशलाई ५९ रनले पराजित गर्याे ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले टस जित्दै ब्याटिङ गर्दा निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय १५ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको कर्णालीले ३५ ओभरमा सबै विकेट गुमाएर एक सय ५६ रन मात्रै बनाउन सक्यो ।
खेलमा प्रदेश १ ले राम्रो सुरुवात गर्न सकेन । ओपनरद्धय श्रवण यादब र दिपक पासवानले १३ रनको मात्रै साझेदारी गर्न सके । यादवले ५७ बलको सामना गर्दा १७ रन जोडे । पासवान पाँच रनमा आउट भए । विजयी प्रदेश १ को इनिङ कप्तान सिद्धान्त लोहनीले ६६ रन बनाएर उकासे । उनले ९७ बल सामना गर्दा नौ चौक्का प्रहार गरे । त्यस्तै, शुभङ्कर उराउले ३६ रन जोडे भने मिनाश थापाले २५ रनको योगदान गरे । अन्य खेलाडीले भने उल्लेख्य योगदान गर्न सकेनन् ।
कर्णलीका लागि रबिन्द्र शाहीले तीन विकेट लिए भने दिनेश अधिकारी र अनुज चुनाराले समान दुई विकेट हात पारे । त्यस्तै, दिवन पुन र राज शाहले एक–एक विकेट प्राप्त गरे ।
कर्णलीलाई लक्ष्य प्राप्त गर्न रोक्न प्रदेश १ का मिनाश थापाले धारिलो बलिङ गरे । प्लेयर अफ दि मयाच चुनिएका थापाले पाँच विकेट लिए । थापाको बलिङको शिकार कर्णलीका लागि सर्वधिक रन बनाउने विपिन रावल पनि बने । ३४ बल सामना गर्दा ४७ रन बनाएका ओपनर रावलले पहिलो विकेटका लागि रविन्द्र जङ शाहीसँग ५० रनको साझेदारी गरे । शाहीले कर्णलीका लागि १८ रन जोडे भने तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका निश्चल रावलले ३१ बनाए ।
त्यस्तै दिवन पुन र दिनेश अधिकारीले क्रमशः १४ र ११ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले भने पराजित कर्णलीको खातामा उल्लेख्य रन जोड्न सकेनन् ।
प्रदेश १ का लागि,दिपेश कँडेलले तीन विकेट हात पारे भने मनोज तामाङले दुई विकेट थपे ।
हारका बाबजुद पनि कर्णाली समूह ए मा प्रदेश १ भन्दा माथि छ । पछिल्लो खेलमा गण्डकी प्रदेशलाई हराएको कर्णलीले तीन खेलबाट दुई अंक बनाएको छ । समूहमा चौथौं स्थानमा रहेको प्रदेश १ ले चार खेलबाट दुई अंक मात्रै बटुलेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया