खेलकुद

प्रधानमन्त्री कपः  पृथु बास्कोटाको बलियाे लयले बागमती अपराजित

इकागज |
माघ ९, २०७७ शुक्रबार १६:५० बजे

फाइल तस्वीर

काठमाडौँ : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले आफ्नो विजय यात्रालाई जारी राखेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा प्रदेश २ लाई ६ विकेटले हराएको वागमतीले प्रतियोगितामा शतप्रतिशत जित निकालेको छ । 

जितपछि बागमतीले समूह बी मा आफ्नो पकडलाई बलियो बनाएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलिरहेको बागमतीले ६ अंक बनाएको छ भने विभागीय टोली नेपाल पुलिस क्लब तीन खेलबाट चार अंक बनाउँदै दोस्रो स्थानमा रहेको छ । जितविहिन रहेको प्रदेश २ चौंथौं स्थानमा छ भने सुदूरपश्चिम समूहको पुच्छारमा छ ।   
प्रतियोगितामा लगातार दोस्रो पराजय भोगेको प्रदेश २ ले टस जितेर ब्याटिङ गर्दा ४८.२ ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको बागमतीले चार विकेटको क्षतिमा एक सय ८१ रन बनायो । 


बागमतीका गौतम केसीले उत्कृष्ट बलिङ गरेपछि प्रदेश २ सस्तैमा समेटियो । केसीले २९ रन खर्चेर चार विकेट लिदाँ प्रदेश २ का ओपनरद्धय उनकै बलमा पभेलियन फर्के । प्रदेश २ का ओपनर सुधिर चौधरीले ३८ बलको सामना गर्दा १ रन जोडे भने हरीशंकर शाहले ६ रन मात्रै बनाउन सके । प्रदेश २ का लागि विवेक यादबले ६६ रन जोडे पनि पराजित टोलीले सम्मानजनक योगफल बनाउन सकेन । प्रदेश २ का लागि कुमार थापाले २२ रन, राहुल प्रताप सिंहले १८ र कप्तान सुरज कुर्मीले १३ रन बनाए । बाँकी कुनै पनि खेलाडीले दोहारो अंक छुन सकेनन् । विजयी बागमतीका लागि रामनरेश गिरीले दुई विकेट हात पारे भने नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले समान एक–एक विकेट लिए । 

बागमती लागि पृथु बास्कोटाले प्रतियोगितामा आफ्नो बलियो लयलाई कायम राख्दै ५३ रन बनाए । यसअघि सुदूरपश्चिम प्रदेशका विरुद्ध पनि अर्धशतक प्रहार गरेका बास्कोटाले प्रदेश २ सँगको खेलमा ७५ बलको सामना गर्दा एक छक्का र चार चौका प्रहार गरे । बागमतीका विभत्सु थापाले ४७ रन जोडे भने ओपनर आकाश थापाको ३२ रनको योगदान रह्यो । प्रदेश २ का लागि हरीशंकर शाहले दुई विकेट लिए भने विशाल शुसलिङ र कुमार थापाको नाममा एक–एक विकेट रह्यो ।  
   
 


Author

थप समाचार
x