बेनिटेजले चीन छाडे, जेरार्डको चुनौति सामना गर्न स्कटल्यान्ड जानसक्ने
काठमाडौँ : लिभरपुल तथा रियल म्याड्रिडका पूर्वप्रशिक्षक राफा बेनिटेजले चिनियाँ क्लब डालियन प्रो छाडेको घोषणा गरेका छन् । सन् २०१९ मा चीन लागेका स्पेनी प्रशिक्षक बेनिटेजले कोभिड–१९ (कोरोना भाइरस) लाई कारण मान्दै चिनियाँ सुपर लिग खेल्ने क्लबको जिम्मेवारी छाडेको घोषणा गरेका हुन् । शनिबार आफ्नो ब्यक्तिगत वेभसाइटमार्फत बेनिटेजले त्यस्तो घोषणा गरे ।
प्रिमियर लिगमा चेल्सी र न्यूकासल युनाइटेडको समेत जिम्मेवारी बहन गरेका बेनिटेजले आफ्नो लेखमा ‘ग्रसियस डालियन’ लेख्दै विदा मागेका छन् । ‘गत वर्ष कोभिडका कारण हाम्रो जीवन मात्रै होइन, क्लबलाई समेत असर गरेको छ । यसैबीचमा, म र मेरा सहायकहरूले डालियन छाड्ने निर्णयमा पुगेका छौं ।’ बेनिटेजले लेखेका छन् । बेनिटेजले डालियन बसाई अविश्वसनिय रहेको बताउँदै आफ्ना सहायकहरूले उत्कृष्ट काम गरेको भन्दै धन्यवाद पनि दिए ।
न्यूकास छाडेपछि डालियन पुगेका बेनिटेजले चीनमा आफ्नो स्थापित गर्न चाहेको बताएका थिए । वार्षिक १२ मिलियन पाउण्ड तलब पाउनेगरी डालियनसँग सम्झौता गरेको बेनिटेजले अपेक्षाकृत सफलता भने पाउन सकेनन् । बेनिटेजको नेतृत्वमा डालियन २०१९ को लिगमा नौऔं स्थानमा रह्यो भने गत सिजन १२ औं स्थानमा लिग सम्पन्न गर्याे ।
अबको यात्रा
बेनिटेजले चीन छाडेको खबर प्रकाशित भएसँगै युरोपका विभिन्न क्लब उनलाई अनुबन्ध गर्न दौडमा छन् । बेलायती सञ्चार माध्यमका अनुुसार स्कटल्यान्डको सेल्टिक बेनिटेजको पहिलो रोजाई हुनसक्छ । स्कटिस लिगमा हाल दोस्रो स्थानमा रहेको सेल्टिक गत सिजनको च्याम्पियन हो । तर लिभरपुलकै पूर्व खेलाडी स्टिभन जेरार्ड नेतृत्वमा रहेको रेन्जर्सले जारी सिजनमा सेल्टिकलाई पछाडि पारेको छ ।
यदि बेनिटेजको स्कटल्यान्डतर्फको स्थान्तरण सफल भए उनले आफ्ना पूर्व खेलाडीको चुनौति सामना गर्नेछन् । लिभरपुलमा रहँदा २००५ को च्याम्पियन्स लिग जितेको यो जोडीको उपस्थितीले स्कटिस लिगको उपाधि दौड थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया