खेलकुद

प्रधानमन्त्री कपः सुदूरपश्‍चिमको सान्त्वना जित

इकागज |
माघ ११, २०७७ आइतबार १६:३३ बजे

काठमाडौँ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्‍चिम प्रदेशले सान्त्वना जित हात पारेको छ । आइतबार कीर्तिपुरको त्रिभुवन विश्‍वविद्यालयको मैदानमा भएको खेलमा सुदुरपश्‍चिमले प्रदेश २ लाई तीन विकेटले पराजित गर्‍यो । 

प्रतियोगिताबाट बाहिरिसकेको दुई टिमबीचको खेलबाट सुदुरपश्‍चिमले दुई अंक बटुल्दै समूह बी को चौथौं स्थानमा उक्लियो । सुदुरपश्‍चिम भन्दा एक खेल कम खेलेको प्रदेश २ समूहको पुच्छारमा छ ।
 
टस हारेर ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै एक सय ९५ रन बनायो । सुदुरपश्‍चिमले ३३ ओभरमा सात विकेटको क्षतिमा एक सय ९६ रन बनायो । 


खेलमा हरीशंकर साहले अर्धशतक प्रहार गरे पनि प्रदेश २ ले सम्मानजनक योगफल बनाउन सकेन । शाहले ७३ बल सामना गर्दा नौ चौक्काको सहयोगमा ६० रन बनाए । त्यस्तै, विवेक यादवले ४१ रनको योगदान गरे भने महबुब आलमले २३ रन जोडे । राहुल प्रताप सिंह र कुमार थापाले क्रमशः १२ र ११ रन बनाउँदा अन्य खेलाडीले उल्लेखित रन जोड्न सकेनन् । 

सुदुरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले तीन-तीन विकेट हात पारे भने अरुण ऐरीले दुई विकेट लिए । हेमन्त धामी र भोजराज भट्टले एक-एक विकेट दर्ता गरे । 

उता सुदुरपश्‍चिमका लागि ओपनरद्धयले उत्कृष्ट प्रदर्शन गरेपछि लक्ष्य प्राप्ती सहज बन्यो । गजेन्द्र बोहोराले ३९ रन बनाए भने अर्का ओपनर खडक बोहोराले ४३ रन जोडे । प्लेयर अफ दि म्याच सन्जु दमाईले सर्वाधिक ५७ रनको योगदान गरे । अरुण ऐरीले १९ बनाउँदा सुदुपश्‍चिमको मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानले बलियो लय कायम राख्‍न सकेनन् । 

प्रदेश २ का कुमार थापाले तीन विकेट लिए भने हरीशंकर शाहले दुई विकेट हात पारे । त्यस्तै विवेक साह र रबी साहले एक-एक विकेट दर्ता गरे ।   


Author

थप समाचार
x