खेलकुद

प्रधानमन्त्री कप : पुलिसलाई हराउँदै एपीएफ फाइनलमा

इकागज |
माघ १४, २०७७ बुधबार १७:५१ बजे

काठमाडौँ : सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । 

दोस्रो संस्करणको विजेता एपीएफले फाइनलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 


टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय तीन रन बनायो । जवाफी ब्याटिङमा उत्रेको साविक विजेता पुलिस एक सय ७३ रनमा अलआउट भयो । 

पुलिसलाई लक्ष्य प्राप्तीमा अवरोध गर्न एपीएफका भुवन कार्कीले धारिलो बलिङ गरे । उनले २१ रन खर्चेर चार विकेट हात पारे । पुलिसले कमजोर सुरुवात गर्दा कार्कीको बलमा ओपनर कुशल भुर्तेल शून्यमा पभेलियन फर्के भने तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अमित श्रेष्ठ आठ रनमा आउट भए । अर्का ओपनर सुनिल धमलालाई कमल सिंह ऐरीले एलबीडब्ल्यूमा पारे । धमलाले तीन रन मात्रै जोड्न सके । 

पुलिसका लागि पवन सर्राफले सर्वाधिक ४० रन बनाए भने रासिद खानले ३४ र दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाए । यी तीन बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् । एपीएफका लागि कमल ऐरी, अभिनाश बोहरा र कप्तान शरद भेषावकरले २-२ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्‍वविद्यालय क्रिकेट मैदानमा एपीएफले पनि राम्रो सुरुवात गर्न सकेन । ओपनरद्वय सुवास खकुरेल र आसिफ शेखले पहिलो विकेटका लागि १३ रनको साझेदारी गरे । खकुरेल १९ रनमा पभेलियन फर्के भने शेख एक रनमा सिमित भए । 

विजय टिमका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाए । उनले ९६ बलको सामना गर्दा चार चौका प्रहार गरे । त्यस्तै प्लेयर अफ दि म्याच घोषित भएका कार्कीले ४२, सन्दिप जोराले ३४ र कमल ऐरीले १९ रन जोडे ।  

बलिङतर्फ पुलिसका आरिफ शेखले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीको नाममा समान २ विकेट रह्यो । त्यस्तै, सागर ढकाल र रासिद खानले एक-एक विकेट हात पारे । 


 


Author

थप समाचार
x