खेलकुद

लिभरपुलमा नयाँ खेलाडी आउने सम्भावना कम छ : योर्गेन क्लप

इकागज |
माघ १५, २०७७ बिहीबार १३:१७ बजे

काठमाडौँ : लिभरपुलका प्रशिक्षक योर्गेन क्लपले जनवरी सरुवा बजारमा आफ्नो क्लबले नयाँ खेलाडी अनुबन्ध गर्ने सम्भावना कम रहेको बताएका छन् । बिहीबार हुने टोटनहमसँगको खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मलेनमा क्लपले त्यस्तो धारणा राखेका हुन् । 

‘नयाँ खेलाडी आउने सम्भावना कम छ । कोही पनि अनुबन्धित हुँदै हुँदैनन् भन्‍न सकिँदैन । तर मेरो अपेक्षा कम छ,’ क्लपले भने । गत सिजन प्रिमियर लिग जितेको लिभरपुल पछिल्ला पाँच खेलमा जितविहिन छ ।


लिभरपुल अग्रपंक्ति र रक्षापंक्ति दुवै विभागमा कमजोर देखिएको छ । भर्जिल भान डाइक र जो गोमेज लामो समय मैदान बाहिर रहने तालिका भएकाले पनि लिभरपुल रक्षापंक्तिमा फिक्का देखिएको हो । अर्का रक्षक जोएल माटिप पनि बारम्बार घाइते भएपछि क्लपले मिडफिल्डर र युवा रक्षकहरुको प्रयोग गरिरहेका छन् । 

घाइते खेलाडीको ठूलो सूची र स्ट्राइकरहरूको कमजोर लयले लिभरपुललाई जनवरी सरुवा बजारमा खर्च गर्नुपर्ने दबाब छ । तर प्रशिक्षक कलप त्यस विषयमा आशावादी देखिएनन् । कोभिड-१९ का कारण लिभरपुलको आम्दानी घटेको र अर्थिक अवस्था बलियो नभएको कारण नयाँ खेलाडी खरिद अहिलेका लागि सम्भव नभएको बताउँदै आइएको छ । 

क्लपले आफ्ना खेलाडीहरू अहिले देखिएको समस्या समाधान गर्नमा सक्षम रहेको पनि बताए । ‘हामीले समस्या समाधान गर्ने भनेको मैदानमा उत्रिएर नै हो । हामीले आफ्नो प्रदर्शन कसरी सुधार्ने त्यसम ध्यान केन्द्रित गर्न जरुरी छ । र त्यसो गर्न हाम्रा खेलाडी सक्षम छन्,’ जर्मन प्रशिक्षक क्लपले भने ।


Author

थप समाचार
x