महिला लिगमा आर्मीको गोलको वर्षा
काठमाडौँ : राष्ट्रिय महिला फुटबल लिगमा शुक्रबार त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकालाई १०-० ले पराजित गरेको छ । शर्मिला थापा र रश्मी घिसिङले चार-चार गोल गरेपछि विभागिय टोली आर्मीले रौतहटको चन्द्रपुरलाई भारी अन्तरले पराजित गरेको हो ।
जितपछि सात टिम सम्मिलित लिगमा आर्मी दोस्रो स्थानमा उक्लेको छ । आर्मीले चार खेलबाट सात अंक बटुलेको छ । लिगमा अपराजित अर्को विभागिय टिम एपीएफ शीर्षस्थानमा छ । नेपाल पुलिस क्लब र वालिङ नगरपालिका समान पाँच अंक सहित तेस्रो स्थानमा छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीको जितमा विमला चौधरी र सपना लामाले एक-एक गोल थपे । खेलपछि आर्मीका प्रशिक्षक राजु तामाङले आफ्ना स्ट्राइकरहरुको आत्मविश्वास बढेको बताए । सुरुवातमै गोल गरेर विपक्षीलाई दबाबमा राखी गोल अन्तर फराकिलो बनाउने लक्ष्य पनि पुरा भएको पूर्व राष्ट्रिय खेलाडी तामाङको भनाई थियो । उता पराजित चन्द्रपुरका सहायक प्रशिक्षक चित्र दर्लामी मगरले मुख्य खेलाडीहरुले चोट बोकेका कारण भारी अन्तरले पराजित हुनु परेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया