खेलकुद

म्यानचेस्टर सिटीमा भिन्सेन्ट कम्पनीलाई बिर्साउने रुवेन डायस

इकागज |
माघ १७, २०७७ शनिबार ६:५५ बजे

काठमाडौँ : गत सिजन लिग च्याम्पियन लिभरपुलको दाँजोमा म्यानचेस्टर सिटीको रक्षापंक्ति कमजोर देखिएपछि पेप ग्वार्डिओलाले नयाँ रक्षक माग गरे । स्पेनी प्रशिक्षकको माग सम्बोधन गरिँदा इतिहाद रंगशाला आइपुगे रुवेन डायस ।

जो जारी सिजन सिटीको महत्वपूर्ण खेलाडीमध्येका एक दरिएका छन् । डायसले सिटीको टिममा बलियो खेल देखाइरहँदा प्रश्न उठ्छ । के प्रशिक्षक ग्गार्डिओलाले सोचेका थिए डायसले यत्तिको प्रभाव पार्छन् भनेर ? सायद थिएन ।


गत सेप्टेम्बर २७ मा लेस्टर सिटीसँग पाँच गोल खाएपछि सिटी नयाँ रक्षक तुरुन्त अनुबन्ध गर्न बाध्य भयो । त्यही बाध्यताको परिणाम हुन, २३ वर्षीय डायस । ६२ मिलियन पाउण्डमा पोर्चुगिज क्लब बेनफिकाबाट सिटी सरुवा भएका डायसको उपस्थितिमा पूर्वी म्यानचेस्टर टोलीको रक्षापंक्तिमा सुधार भएको छ । डायसले पहिलो रोजाइको रक्षक भएर खेल्न सुरु गरेपछि सिटीले सबै प्रतियोगितामा गरी १६ ‘क्लिनसिट’ राखेको छ ।

डायसलाई सिटीमा भिन्सेन्ट कम्पनीको दिर्घकालिन विकल्पका रुपमा हेरिएको छ । १८ महिना अघि सिटी छाडेका कम्पनीलाई प्रतिस्थापन गर्ने कोही भएनन् भन्‍ने गुनासो आइरहेका बेला डायसले आफुलाई बलियो तरिकाले स्थापित गरेका छन् । डायसलाई बेनफिकामा टिमलाई नेतृत्व प्रदान गर्नसक्ने खेलाडीका रुपमा लिइन्थ्यो । त्यही क्षमताका कारण उनलाई सिटीमा सम्मान गर्ने गरिन्‍छ । खेल कौशल त छँदैछ ।

डायस बेनफिकामा हुँदा पनि मेहेनेती खेलाडीका रुपमा परिचित थिए । सधैँ प्रशिक्षकको सल्लाह अनुरुप चल्ने । सिटीमा पनि उनी ग्वार्डिओलाको कुरा सुन्‍छन् । युवा उमेरमा परिपक्‍व खेल देखाइरहेका उनी प्रत्येक ‘ट्रेनिङ सेसन’ दौरान सिकाइमा ध्यान दिन्‍छन् । पोर्चुगलको राष्ट्रिय टिममा पेपे र बु्रनो आल्भेस जस्ता दिग्गज रक्षकसँग खेल्दा डायसलाई निक्कै फाइदा पुगेको छ । यता सिटीमा पाका रक्षक नभए पनि एमेरिक लार्पोटे र जोन स्टोन्ससँग डायसको साझेदारी बलियो बन्दै गइरहेको छ ।

‘उनी प्रत्येक दिन सिक्न चाहन्‍छन् । उनीसँग धैर्यता छ । अनि एकदमै प्रोफेशनल पनि । खानादेखि जिमसम्मको तालिकामा लापारबाही गर्दैनन् । उनको खेल प्रतिको प्रतिबद्धता देखेर अचम्म लाग्छ,’ डायसका बारेमा ग्वार्डिओला भन्‍छन् ।

त्यसो त डायसलाई सिटी आउन सजिलो थिएन । बेनफिकामा उनी सानै उमेरबाट खेलिरहेका थिए । सहकर्मीहरूसँग विदा माग्दा उनी भावुक देखिएका थिए । तर करियरलाई एक खुडकिलो माथि त लग्‍नैपर्ने थियो । सिटीमा आएपछि उनले चुनौतिको समाना गर्नुपर्‍यो । कोभिड-१९ का कारण पुरै इंग्लिस फुटबल प्रभावित थियो । लिस्बनमा बुवा आमासँग बसिरहेका डायस पूर्वी म्यानचेस्टरमा एक्लै भए । तर उनको साथमा थिए बेनफिकाकै पूर्व खेलाडी एडरसन अनि पोर्चुगिज राष्ट्रिय टिमका जोआओ कान्सेलो र बर्नादो सिल्भा । जसले उनलाई म्यानचेस्टरको जीवनसँग अभ्यस्त हुन सहयोग गरे ।

सिटीमा मौका पाउन डायसले पर्खनु परेन । उनलाई स्टोन्सको साझेदारका रुपमा उपयोग गर्न थालियो । जसले सिटीको रक्षापंक्तिलाई स्थिर बनायो । डायस र सेन्सले सँगै खेलेका खेलमा सिटीले एक गोल मात्रै खाएको छ । यी दुईको जोडीले सिटीलाई लिगमा पछिल्ला १० खेलमा अपराजित रहन मद्दत गरेको छ ।

इएफएल कपमा सिटीले सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दा डायस र स्टोन्सको प्रदर्शन प्रभावशाली थियो । स्टोन्सले त गोल पनि गर्न भ्याए । स्टोन्सले गोलको खुशीयाली डायससँग साट्दा यी दुईको मित्रता झल्किन्थ्यो । खेलपछि प्रशिक्षक ग्वार्डिओला पनि प्रशन्‍न देखिन्थे ।

‘हामीले डायस जस्तो प्रतिभा सरुवा बजारमा बारम्बार पाउन सक्दैनौँ । त्यसकारण उनी हामीसँग भएकोमा म हर्षित छु । कमसेकम अर्को पाँच वा सात वर्षका लागि सिटीको रक्षापंक्ति बलियो रहनेछ,’ ग्वार्डिओलाको भनाई थियो ।


Author

थप समाचार
x