आहा ! रारा गोल्डकप चैतमा
पोखरा : मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा ! रारा गोल्डकप चैतमा हुने भएको छ । १९ औं संस्करणको प्रतियोगिता चैत १७ देखि २८ गतेसम्म हुने भएको हो । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौँ’ भन्ने नारा लिएर सहारा क्लब पोखराले प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगितामा १२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबको सहभागिता रहने छ । प्रतियोगिताको पुरस्कार राशी घोषणा गरिएको छैन । आयोजक सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार पुरस्कार राशी पछि घोषणा गरिनेछ ।
कोभिड महामारीका कारण यस संस्करणमा लगभग ८ हजार समर्थकले मात्र खेल हेर्न पाउने छन् । १६ हजार ५ सय सिटको प्यारापिटमा आधा समर्थक मात्र राखेर खेल आयोजना गर्न खेलकुद मन्त्रालयले पत्राचार गरेको महासचिव अधिकारीले बताए । ‘मन्त्रालयले आधा समर्थक राखेर खेल गर्न भनेको छ, त्यसैअनुरुप हामी प्रतियोगिता गर्छौं,’ अधिकारीले भने ।
पोखरा महानगरको संयोजन र हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको प्रायोजनमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा १ करोड ३० लाख १ हजार रुपैयाँ आम्दानी हुने र १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । बचत रकम भने सहारा क्लबले चलाएको सहारा एकेडेमीमा खर्च गरिने क्लबका अध्यक्ष केशव थापाले बताए । हाल उक्त एकेडेमीमा २४ जना बालकहरु आश्रित छन् ।
२०५५ सालमा स्थापित सहारा क्लब पोखराले यस संस्करणको प्रतियोगितामा ‘सप्राइज टोली’ ल्याउने जनाएको छ । अहिले केही विदेशी क्लबसँग छलफल भइरहे पनि कुनकुन टोली आउने पक्का नभएका बेला ‘सप्राइज टोली’ ल्याउन सकिने क्लबका अध्यक्ष थापाले बताए ।
कोभिडपछि बन्द रहेका मोफसलका प्रतियोगितामध्ये सुरुमा आहा ! रारा गोल्डकप हुने छ । राष्ट्रिय फुटबल टोलील बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्नुबाहेक पुरुषका अन्य प्रतियोगिता हुन सकेका छैनन् । महिलाको भने अहिले राष्ट्रिय महिला लिग चलिरहेको छ ।
१८ औं संस्करणको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो । फाइनल खेलमा टाइब्रेकरमा विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै सर्वाधिक छैटौं पटक मनाङले उपाधि आफ्नो पोल्टामा पारेको थियो । पेनाल्टी सुटआउटमा पुलिसलाई ४-३ ले पराजित गर्दै मनाङले उपाधि जितेको थियो । फागुन २२ देखि चैत १ सम्म सञ्चालन भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया