खेलकुद

एउटा मेटिएका तारा अर्थात मेसुट ओजिल

रोरी स्मिथ | तरिक पन्जा |
कात्तिक १४, २०७७ शुक्रबार ७:३४ बजे

यो सामाजिक सञ्जालको युग हो । विश्वमै चिनिएिका जो कोहीले पनि राजनीतिक, सामाजिक विषयमा आफ्नो विचार राख्दा त्यसले सबैको ध्यान खिच्छ नै । अन्तराष्ट्रिय स्तरमा नाम कमाएका खेलाडीले गम्भीर विषयमा आफ्नो विचार राख्दा विश्वले ध्यान नदिने कुरै भएन । त्यसमाथि मेसुट ओजिल जतिका ख्यातिप्राप्त खेलाडीले के लेख्छन्, के बोल्छन् भन्ने कुराको ख्याल उनलाई सामाजिक सञ्जालमा पछ्याउने लाखौ फुटबलप्रेमीले गर्ने नै भए ।

ओजिलले एउटा गम्भीर विषयमा ट्वीट गरे । विषय थियो, चिनियाँँ उइगुर मुस्लिमको । चीनको सिनजियाङमा उइगुरमाथि गरिएको दमनका विषयमा अन्तराष्ट्रिय जगतमा केही हदसम्म चासो र बहस भइरहेका बेला ओजिल पनि त्यसमा मिसिए । उनी आफै पनि टर्किक पृष्ठभूमि भएका मुस्लिम हुन् । उइगुर जाति पनि टर्किक पृष्ठभूमिकै भएका कारण ओजिलले बोल्नु स्वभाविक भएको पनि भनियो । तर मुस्लिम बाहुल्य मुलुकहरु नै चुप रहेको बेला ओजिल किन बोले ? अनि त्यसले ओजिलको करिअरमा के-कस्तो उतारचढाव ल्यायो ? धेरै कुराहरु यो आलेखले उधिन्ने कोशिस गर्ने नै छ ।


अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त एउटा खेलाडीले राजनीतिसँग गाँसिएको विषयमा बोल्दा के कस्तो प्रतिक्रिया, नतिजाको सामना गर्नुपर्ने हुनसक्छ भन्ने कुराको अन्दाज ओजिलले गरेका थिए ? उत्तर ओजिलले नै देलान् । तर उनलाई उनका साथी तथा सल्लाहकारहरुले यो विषयमा बोल्नुअघि यसको गाम्भीर्यतामा पनि ध्यान दिनु भनेर नसम्झाएका होइनन् । अनि बोलिसकेपछि कस्तो प्रतिक्रिया आउन सक्छ भन्नेमा पनि ओजिललाई सचेत गराइएकै हो । 

चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश त हो नै । फुटबलको ठूलो बजार पनि हो । माथिल्लो स्तरमा खेल्ने खेलाडीका लागि व्यक्तिगत आय अनि लोकप्रियता बढाउन चिनियाँ बजारको आवश्यकता पर्छ । सिनिजियाङ र उइगुरसम्बन्धी टुइटले उनलाई चीनजस्तो ठूलो बजारमा अलोकप्रिय बनाउने सम्भावना थियो ।

यूरोपियन फुटबलमा चिनियाँ लगानी बढिरहेको छ । विभिन्न क्लबमा लगानी गर्नेदेखि उनीहरुलाई प्रायोजन गर्नेसम्मका कार्यमा चिनियाँँहरु अगाडि छन् । त्यसकारण, ओजिल चीनमा अलोकप्रिय हुनु भनेको चिनियाँ संलग्न क्लबहरुसँग वा संस्थाहरुसँग जोडिन नसक्ने अवस्थाको सिर्जना हुनु नै हो ।

ओजिलले चीनको लोकप्रिय सामाजिक सञ्जाल विबोमा रहेका आफ्ना ६० लाख फलोवर अनि मुलुकभर खोलिएका फ्यान क्लबमा आबद्ध ५० हजारभन्दा धेरै सर्मथक गुमाउने सम्भावना पनि जीवित नै थियो । त्यसका साथै उनको चीन गएर खेल्ने मौका पनि सदाका लागि अन्त्य हुनसक्थ्यो । पछिल्लो समय युरोपका ठुला क्लबहरु चीन गएर प्रिसिजन खेलहरु खेल्ने परिरपाटी बढिरहेको छ । तर ओजिलले चीन पुगेर खेल्न सक्ने वातावरण नहुनु, उनका लागि मात्र होइन आर्सनलकै लागि टाउको दुखाईको विषय बन्नेवाला थियो ।

विगत ४-५ वर्षमा यूरोपियन फुटबलमा चिनियाँ लगानी बढिरहेको छ । विभिन्न क्लबमा लगानी गर्नेदेखि उनीहरुलाई प्रायोजन गर्नेसम्मका कार्यमा चिनियाँँहरु अगाडि छन् । त्यसकारण, ओजिल चीनमा अलोकप्रिय हुनु भनेको चिनियाँ संलग्न क्लबहरुसँग वा संस्थाहरुसँग जोडिन नसक्ने अवस्थाको सिर्जना हुनु नै हो ।

ओजिललाई थाहा थियो कि उनले उइगुरमाथि गरिदै आएको दमनका बारेमा बोलेर गलत गरिहेका छैनन् । अनि अफवाह पनि फैलाइरहेका छैनन् । तर चीनबाट आउनसक्ने प्रतिक्रियाका बारेमा भने पूरै बेखबर भने थिएनन् । केही साताअघि मात्र एनबीए क्लब ह्युस्टन रकेट्सका जेनरेल म्यानेजर डेरिल मोरीले हङकङको आन्दोलनलाई सर्मथन गर्दै ट्वीट गरेका थिए । मोरीले चीनबाट पाएको कडा प्रतिक्रियाका बारेमा ओजिल बेखबर थिएनन् । तर ओजिल आफ्नो विचारमा प्रतिबद्ध थिए । अन्तराष्ट्रिय मिडियामा आएका रिपोर्ट अनि प्रसारित डकुमेन्ट्रीले चीनमा उइगुरको अवस्थाका बारेमा बोलिरहेकै थिए, जसले ओजिललाई क्रुद्ध बनाइरहेको थियो ।

ओजिललाई उइगुरको अवस्थाबारे बोल्नु त छँदै थियो । त्यसका साथै मुस्लिम बाहुल्य मुलुकलाई बोल्न दबाब दिनु पनि थियो । त्यसमा टर्की पनि पर्थ्यो नै । टर्कीका राष्ट्रपति रेजिप तायिप एर्डोगनसँग ओजिलको व्यक्तिगत सम्बन्ध थियो । एर्डोगन ओजिलको वैवाहिक समारोहमा उपस्थित हुने हाई प्रोफाइल पाहुना थिए । त्यसकारण पनि ओजिल, एर्डोगनले उइगुरमाथिको दमनका बिषयमा बोलुन् भन्ने चाहन्थे ।

ओजिलले उइगुरका बिषयमा ट्वीट त गरे । त्यसमा उनले पाउने कडा प्रतिक्रिया पनि अपेक्षित नै थियो । तर उनको क्लब आर्सनल पनि बीचमा तानियो । ओजिलले उइगुरमाथि भइरहेको दमनका बिषयमा बोले पनि आर्सनलले बोल्नुपर्ने ठानेको थिएन । अरु यूरोपियन क्लबले पनि सो विषयमा मुख खोलेका थिएनन् । आर्सनल पनि चुप थियो । विषय गम्भीर थियो । विश्वभर नै यस विषयमा बोल्नुपर्छ भन्ने आवाज उठिरहेकै थियो । आवाज उठाउनेमा लाखौ फुटबल सर्मथक पनि थिए । एउटा खेलाडी बोल्यो । तर उसको क्लब बोलेन । बोल्ने खेलाडी र उसको क्लबका बीच अब असमझदारी त देखिने नै भयो । तर दुबै पक्ष उत्पन्न असमझदारीमा छलफल गर्न तयार भएनन् ।

ओजिलले उइगुरका विषयमा सार्वजनिक रुपमै बोलिसकेपछि त्यसको नतिजा देखिन थाल्यो । चीनमा प्रिमियर लिग प्रसारण गर्ने सीसीटीभी र पीपी टीभीले आर्सनलले खेल्ने कुनै पनि खेल नदेखाउने घोषणा गरे । तर जब ती च्यानलहरुले आर्सनलको खेल प्रसारण गरे, कमेन्टेटरले ओजिलको नाम लिन इन्कार गरे । चिनियाँ भिडियो गेमबाट ओजिलको तस्बिर हटाइयो । इन्टेरनेटमा उनको बारेमा खोजी गर्दा इरर देखाइन थाल्यो । ओजिल चीनमा क्रमश मेटिन थाले । यो ओजिलले सामना गर्नुपरेको सबैभन्दा ठूलो प्रतिक्रया थिएन । शुरुवात मात्र थियो । उनी विस्तारै चीनबाट हराउन थाले ।

ओजिलले उइगुरका विषयमा बोलेपछि आर्सनलले त्यसमा प्रतिक्रिया नदिई नहुने अवस्था सिर्जना भयो । उसले भन्यो, ‘ओजिलले दिएको अभिव्यक्तिसँग क्लबको कुनै लिनुदिनु छैन ।’ समर्थकहरुले आर्सनललाई उइगुरमाथि चीनले गर्दै आएको व्यवहारका बिषयमा बोल्न दबाव दिदै आएका थिए । तर क्लबले ओजिलले दिएको अभिव्यक्तिबाट आफूलाई अलग्गाएपछि सर्मथकको माग त सम्बोधन भएन नै । खेलाडीमाथि नै एकखाले कारबाही गरेको सन्देश पो गयो ।

‘चीनमा र इङल्यान्डमा फुटबल सञ्चालन गर्ने विधिमा फरक छ । तर धेरै चिनियाँलाई यो तथ्य थाहा छैन । चिनियाँ फुटबलमा संघ बलियो छ । उसको लिग, क्लब र खेलाडीमाथि बलियो पकड रहन्छ । त्यसकारण खेलाडीलाई राजनीतिक विषयमा अभिव्यक्ति दिन सहज हुँदैन ।

ओजिल सामाजिक सञ्जालमा धेरै पछ्याइने खेलाडीमध्येका हुन् । उनको ट्वीटरमा  २ करोड ५० लाख र इन्स्टाग्राममा २ करोड फलोअर छन् । त्यसकारण उनले गरेको ट्वीट र इन्स्टाग्रामको सिलसिलबद्ध पोस्टले आर्सनलमाथि मात्र होइन, प्रिमियर लिगमाथि नै दबाब सिर्जना गर्‍यो ।  चीन, प्रिमियर लिग प्रसारणका लागि सबैभन्दा ठूलो बिदेशी बजार हो । त्यहाँका टीभी च्यानलहरुले प्रिमियर लिग खेलहरु प्रसारण नगर्दा विश्वकै लोकप्रिय फुटबल लिगलाई करोडौं घाटा हुन्छ । शायद त्यसकै आँकलन गरेर प्रिमियर लिगले उइगुर र सिनजियाङमा बिषयमा टिप्पणी नगरेको हुनुपर्छ ।

‘चीनमा र इङल्यान्डमा फुटबल सञ्चालन गर्ने विधिमा फरक छ । तर धेरै चिनियाँलाई यो तथ्य थाहा छैन । चिनियाँ फुटबलमा संघ बलियो छ । उसको लिग, क्लब र खेलाडीमाथि बलियो पकड रहन्छ । त्यसकारण खेलाडीलाई राजनीतिक विषयमा अभिव्यक्ति दिन सहज हुँदैन । त्यसमाथि चिनियाँ लिग खेल्ने सवै विदेशी खेलाडीले चीनलाई बुझेको हुदैन,’ चीनमा स्पोर्टस मार्केटिङ कम्पनी चलाउने झे जी भन्छन्, ‘तर इङल्यान्डमा अवस्था फरक छ । त्यहाँ खेलाडीले आफूलाई मनमा लागेको बोल्न असहज मान्नु पर्दैन ।'

आर्सनल, ओजिलले दिएको बयानबाट हैरान नहुने कुरा भएन । किनभने ओजिलको बयानलाई सर्मथन गर्दा आर्सनलको चिनियाँ फुटबल बजारमा रहेको हिस्सा खोसिने सम्भावना रहन्थ्यो । आर्सनल क्लब प्रशासनले ओजिललाई आइन्दा राजनीतिक बयान नदिन भन्यो । दिनेभए पनि त्यसमा क्लबलाई नजोड्न आग्रह गर्‍यो । त्यसबीचमा आर्सनलले चिनियाँ नयाँ वर्षको अवसार पारेर सर्मथकहरुलाई पठाइने मर्चनडाइजमा ओजिल कतै पनि देखिएनन् । चीनसँगको तनावले अमेरिकी एनबीएले करोडौं मूल्य बराबरको व्यापार गुमायो । प्रिमियर लिगले त्यस्तो बाटो रोज्न चाहेन । ऊ सकेसम्म चीनसँग सम्बन्धित राजनीतिक बयान दिन चाहदैन थियो । तर प्रिमियर लिग सधै राजनीतिक विषयबाट टाढै रहन चाहेको भने देखिएको छैन । कतिपय सन्दर्भमा ऊ बोलेकै छ । जस्तै अश्वेत अमेरिकीको हत्या भएपछि त्यसको विरोधमा आयोजित अभियानमा ।

गत साता मात्र आर्सनल कप्तान पियर एमेरिक औबमेयाङले नाइजेरियामा प्रहरी दमनविरुद्ध जारी आन्दोलनलाई सर्मथन गर्दै ट्वीट गरेका थिए । कप्तानको ट्वीटमा ऐक्यबद्धता जनाउँदै आर्सनलले वक्तव्य जारी गर्‍यो । ‘कतिपय राजनीतिक तथा सामाजिक बिषयमा क्लबहरुले आफ्नो विचार व्यक्त गर्नैपर्छ । नत्र उसका सर्मथकहरुले नै क्लबमाथि प्रश्न उठाउने ठाउँ रहन्छ,’ युरोपमा ठूला क्लबहरुलाई प्रायोजनसम्बन्धी सल्लाह दिने टिम क्रो भन्छन् ।

ओजिलले राजनीतिक अभिव्यक्ति दिएर कुनै गलत काम गरेका होइनन् । तर विषय गलत छाने । कमसेकम एउटा खेलाडीका लागि । गलत यसअर्थमा, अभिव्यत्तिः दिइसकेपछि त्यसबाट आउने प्रतिक्रया थाम्न सकिने खालको हुँदैन । 

प्रिमियर लिगले ब्लाक लाइभ्स म्याटर अभियानमा सर्मथन जनाउदै गर्दा विश्व केही हदसम्म परिवर्तन भइसकेको थियो । कोभिड-१९ (कोरोना भाइरस) महामारीले तीन महिनाका लागि फुटबल नै ठप्प पारेको अवस्था थियो । क्लबहरुको आर्थिक अवस्थामै असर परिरहेको थियो । त्यसैबीच, आर्सनलले क्लबभित्र धेरै कमाइ भएका खेलाडीहरुको तलब कटौति गर्ने प्रस्ताव राख्यो । तर ओजिलले त्यसलाई अस्वीकार गरेको खबर आयो । जे होस्, त्यो विषयमा क्लब र ओजिल फरक कित्तामा उभिए ।

चीनविरुद्धको अभिव्यक्तिपछि पनि ओजिल आर्सनलको टीममा परिरहे । सन् २०२० को सुरुवाती महिनाहरुमा ओजिलको भूमिका आर्सनलमा महत्वपुर्ण नै रह्यो । आर्सनलको प्रशिक्षक हुन अन्र्तवार्ता दिन गएका मिकेल आर्टेटाले आफू ओजिलसँग काम गर्न इच्छुक रहेको बताएका थिए । आर्टेटाले आफ्ना पूर्व सहकर्मीलाई राम्रो लयमा फर्किन मद्दत गर्ने अपेक्षा गरिएको थियो । तर ओजिल र आर्टेटाबीचको सम्बन्धमा फाटो आउन समय लागेन । त्यसमा क्लबले खेलाडीलाई तलब कटौति स्वीकार गर्न दिएको दबाव पनि एउटा कारण हो ।

क्लब र खेलाडीबीच करिब छ हप्ता कुराकानी चल्यो । अन्ततः प्राय खेलाडीहरुले क्लबको प्रस्ताव स्वीकार गरे । तर ओजिलले क्लबलाई प्रश्न गर्न भने छाडेनन् । ओजिलले गम्भीर प्रश्नहरु उठाए । जस्तै, क्लबको माथिल्लो तहका कर्मचारीले पनि तलब कटौति स्वीकार गरे वा गरेका छैनन् ? खेलाडीको तलब कटौती गरेर जम्मा भएको पैसा केमा खर्च गरिने हो ? क्लबले त्यो पैसा कोरोना भाइरसका कारण आर्थिक रुपमा कमजोर बन्न पुगेका तल्लो तहका कर्मचारीहरुका लागि प्रयोग गर्ने हो होईन ? ओजिलले यी प्रश्नहरुको उचित सम्बोधन भएको अनुभूति गरेनन् । प्रशिक्षक आर्टेटाले खेलाडीहरुलाई जुम मिटिङमा क्लबले प्रस्ताव गरेको तलब कटौतीलाई स्वीकार गर्न आग्रह गरे । तर ओजिल टसमस भएनन् ।

अन्ततः जुनमा आर्सनलले खेलाडीहरुले १२.५ प्रतिशत तलब कटौति गर्ने घोषणा गर्‍यो । धेरैजसो खेलाडीले तत्कालै हस्ताक्षर गरे । करिब आधा दर्जन खेलाडीले भने ढिलाई गरे । तर ओजिलले भने हस्ताक्षर गरेनन् । यस्तो निर्णयले ओजिललाई आलोचित बनाउने निश्चित थियो । अथवा त्यस्तो निर्णय गर्दा उनले आफ्नो आर्सनल करिअर नै अन्त्य हुने सम्भावना नदेखेको पनि होईन । तर त्यस्तो सम्भावनाले उनको विचारलाई परिवर्तन गर्न सक्दैन थियो । 

त्यसपछि ओजिलले आर्सनलका लागि कुनै खेल खेल्न पाएका छैनन् । खेलाडीहरुलाई तलब कटौति गरेको दुई महिनापछि आर्सनलले क्लबका ५५ जना कर्मचारीहरुलाई हटाउने निर्णय गर्‍यो । तीमध्ये एकमा ओजिलले आफ्नो रुचि व्यक्त गरे ।  

दि डायनोसर 
आर्सनल र ओजिलबीचको असमझदारी बढ्दै गयो । ओजिलको चीनसम्बन्धी अभिव्यक्ति र तलब कटौति प्रस्तावको अस्विकारपछि अर्को घटनाले उनी र क्लबबीचको सम्बन्धमा थप चिसोपन ल्यायो । त्यो थियो ‘डायनोसर’ माथिको फरक विचार ।

जेरी क्वी आर्सनलमा २७ वर्षदेखि मस्कटका रुपमा कार्यरत थिए । सानैदेखि आर्सनल सर्मथक रहेका क्वी डायनोसरजस्तै देखिन, हरियो पोशाक लगाएर इमिरेट्स रगंशालामा उपस्थित हुन्थे । उनको तलब कटौतिको विषयलाई लिएर समर्थकहरुले आर्सनलको व्यापक आलोचना गरे । त्यसपछि दृश्यमा देखा परे, ओजिल । जसले तत्कालका लागि क्वीको तलब आफूले उपलब्ध गराइदिने घोषण गरे । सर्मथकहरु रगंशालामा आउने वातावरण नबनुञ्जेल क्लबको आर्थिक अवस्था नसुध्रिने र त्यसकारण तत्कालका क्वीको तलब आफ्नो गोजीबाट उपलब्ध गराउने ओजिलको भनाई थियो । जर्मन मिडफिल्डरको घोषणाले निश्चय पनि आर्सनललाई खुशी बनाएन । किनभने ओजिलले आर्सनललाई गिज्याएझै देखिन्थ्यो ।

आर्सनलले ओजिललाई बेच्न नखोजेको होइन । सन् २०१८ र २०१९ मा आर्सनलले ओजिलका लागि खरिदकर्ता खोज्ने प्रयास गर्‍यो । तर सफल भएन । आर्सनलले ओजिललाई जसरी भए पनि क्लबबाट निकाल्न खोजेको देखियो । खेलाडी र क्लबबीच झन दूरी बढ्दै गयो । ओजिलले बिहे गरेको धेरै भएको छैन । अहिले त उनको सानो छोरी पनि छिन् । उनी लन्डन बसाईमा खुशी देखिन्छन् । त्यसकारण पनि उनले तत्काल लन्डन छाड्न इच्छा देखाएका छैनन् । तर क्लबका धेरै सर्मथकहरु फरक तर्क राख्छन् । ओजिलले आर्सनलमा पाइरहेको तलब अन्य क्लबमा पाउन नसक्ने भएकाले, उनी त्यही बस्न खोजेको उनीहरुको तर्क छ । त्यसो त ओजिलको आर्सनलसँगको सम्झौता अर्को वर्ष सकिदैछ ।

त्यसो त आर्सनलमा ओजिलको तलब धेरै छ । पछिल्ला वर्षमा उनको मैदान बाहिर समस्या खडा गर्ने खेलाडीको छवि पनि बनेको छ । त्यसकारण पनि ठूला क्लबहरुले ओजिललाई खरिद गर्ने प्रस्ताव राख्‍न इन्कार गरिरहेको जस्तो देखिन्छ ।

ओजिललाई पछिल्लो समय गम्भीर आरोप लाग्दै आएको छ । उनलाई आलोचना गर्नेहरु दाबी गर्छन्, आजकल ओजिललाई खेलमा रुचि छैन । तर उनका निकटस्थहरु त्यस्तो आरोपको खण्डन गर्छन् । त्यसो त, न क्लबले न त प्रशिक्षकले ओजिलमाथि त्यस्तो आरोप लगाएका छन् । तर यूरोपियन फुटबलमा उनको खेल कौशल र प्रतिभालाई बिर्सन थालिएको भान हुन्छ । नत्र, आर्सनलले लगातार दुई वर्ष खरिदकर्ता खोज्दा पनि किन कुनै क्लबले ओजिललाई किन्ने इच्छा देखाएनन् ? कतिपयको आरोप छ, ओजिलले मैदानबाहिर धेरै समस्या खडा गरिदिन्छन् ।

अन्त्यको सुरुवात 
ओजिलले आर्सनलमा विभिन्न समस्या झेलिरहेका छन् । तर उनी त्यहीं रहन चाहन्छन् । किन त ? उनी भन्छन्, 'मलाई आर्सनलप्रतिको स्नेहले यही क्लबमा रहिरहन प्रेरित गर्छ । फुटबल सरुवा बजारलाई नजिकबाट नियाल्ने एक अधिकारी भन्छन्, ‘ओजिलका लागि गएको समर विन्डोमा आर्सनल छाड्ने मौका थियो । तर कुनै प्रस्तावले पनि ओजिललाई आर्कषित गरेन ।’

त्यसो त आर्सनलमा ओजिलको तलब धेरै छ । पछिल्ला वर्षमा उनको मैदान बाहिर समस्या खडा गर्ने खेलाडीको छवि पनि बनेको छ । त्यसकारण पनि ठूला क्लबहरुले ओजिललाई खरिद गर्ने प्रस्ताव राख्‍न इन्कार गरिरहेको जस्तो देखिन्छ । आर्सनल, ओजिललाई ऋणमै भए पनि अर्को क्लबमा पठाउन चाहन्थ्यो । त्यो पनि उनको आधा भन्दा धेरै तलब आफैं तिरिदिएर । तर कुनै क्लबले आधिकारिक प्रस्ताव राखेको देखिएन ।

गत साता मात्रै, आर्सनल र ओजिलको सम्बन्धलाई थप प्रकाश पार्ने निर्णय बाहिर आयो । आर्सनल बिहीबार राति युरोपा लिगमा र्‍यापिड भियनाविरुद्ध खेल्दै थियो । ठीक त्यही बेला उसले घोषणा गर्‍यो, ओजिल क्लबको प्रिमियर लिग खेल्न घोषित टीमको सदस्य रहने छैनन् भन्ने । युरोपाका लागि घोषित आर्सनल टोलीमा त उनलाई राखिएको थिएन नै ।

फुटबल सरुवा बजार आगामी जनवरीसम्मका लागि बन्द भइसक्यो । त्यसकारण ओजिललाई त्योभन्दा अगाडि आर्सनल छाड्नका लागि कुनै बाटो छैन । विश्वकप विजेता उनी एले फुटबलमै निर्वासनमा बसिरहेको जस्तो देखिन्छ । उनी यो अवस्थासम्म आइपुग्नुमा दोष कसको ? शायद उनको आफ्नै । अनि आर्सनलको पनि । ओजिल, आर्सनलसँग आफ्नो सम्बन्ध बिग्रनुमा  उइगुरसम्बन्धी ट्वीटलाई कारण मान्छन् । तर आर्सनल त्यो मान्न तयार छैन । जेजस्तो कारणले, आर्सनल र ओजिलको सम्बन्ध आजको अवस्थासम्म आइपुग्यो, यसको नतिजा हाम्रै अगाडि छ । ओजिल मेटिएका छन् । (न्युयोर्क टाइम्सबाट)


Author

थप समाचार
x