खेलकुद

कहिल्यै नथाक्ने रोनाल्डो

इकागज |
माघ २५, २०७७ आइतबार १४:३३ बजे

काठमाडौँ: क्रिस्टियानो रोनाल्डो ३६ वर्षको उमेरमा पनि उस्तै फिट छन् । लगातार उच्च स्तरको खेल देखाइरहेका छन् । गोल गरिरहेका छन् । पोर्चुगलका यी फरवार्डको शारीरिक स्फुर्तिका बारेमा बारम्बार बहस भइरहेको हुन्छ । 

नहोस पनि किन ? जारी इटालियन सिरी ए सिजनमा १७ खेलमा १६ गोल गरिसके । सबैखाले प्रतियोगितामा गरी उनले २४ खेल खेलेका छन्, जसमा उनको गोल संख्या २३ छ । शनिबार लिगमा एएस रोमाविरुद्धको जितमा पनि रोनाल्डाले गोल गरे । 


युरोपियन क्लब फुटबलमा खेलाडी ३० कट्ने बित्तिकै उसलाई कहिले सन्यास लिने भनेर प्रश्‍न सोध्‍ने गरिन्छ । तर रोनाल्डोले त्यस किसिमको प्रश्‍नको सामना गर्नुपरेको छैन । बार्यन म्युनिख, रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन, चेल्सी र एसी मिलान जस्ता क्लबमा कार्लो एनसिलोट्टीको प्रशिक्षण टोलीमा ‘फिटनेस कोच’ रहिसकेका जियोभानी मउरीले रोनाल्डोले ४० वर्षको उमेरसम्म पनि उही लयमा खेल्न सक्छन् भनेर त्यसै भनेका होइनन् । 

उता युभेन्टस र इटाली राष्ट्रिय टोलीबाट खेलेका क्रिस्टियन भियरीले समेत रोनाल्डोको तारिफ गरेका थिए । ‘कुनै पनि टिममा रोनाल्डो भए त्यस टिम खेलमा स्वत १–० ले अघि बढेको मान्‍न सकिन्छ ।’ भियरीले यसै साता भनेका थिए । रोमासँगको खेलमा भयो पनि त्यस्तै । उनै रोनाल्डोको गोलमा युभेन्टसले १३ औ मिनेटमै अग्रता लियो । उनले गरेको गोल हेर्न लायकको थियो । यसरी नै गोल गरिरहेका रोनाल्डो फेरी पनि युरोपियन गोल्ड बुटको दौडमा छन् । उनले यसअघि नै चार पटक सो उपलब्धि हासिल गरिसकेका छन् । 

सिजनको सुरुवाती खेलहरूमा बलियो नदेखिएको युभेन्टस पछिल्ला साताहरूमा पनि मिलानका दुई क्लबको सामुन्‍ने निरिह देखिएको थियो । तर रोमामाथिको जितपछि युभेन्टस अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । रोनाल्डोकै गोलमा युभेन्टसले गत मंगलबार इन्टर मिलानलाई पराजित गर्दै कोपा इटालियन क्लबको फाइनल प्रवेश गर्‍यो । रोनाल्डोले यही लय जारी राखे युभेन्टस च्याम्पियन्स लिगको उपाधि दाबेदार बन्‍ने सम्भावना बलियो छ । 

आन्द्रेइ पिर्लो आफ्नो पहिलो सिजनमा युभेन्टसमा सफल हुने, नहुने भन्‍ने पनि रोनोल्डाको लयले निर्धारण गर्नेछ । रोनाल्डो युभेन्टसका लागि महत्वपूर्ण खेलाडी भए पनि उनलाई सबै खेलमा प्रयोग गर्न चाहदैनन्, पिर्लो ।

रोनाल्डोलाई पर्याप्त आराम चाहिने कुरामा पिर्लो सचेत छन् । तर रोनाल्डो भने सबै खेलमा ९० मिनेट सम्मै मैदानमा रहन चाहान्छन् । इन्टरसँगको खेलमा ७७ औ मिनेटमा मैदान बाहिर आएका रोनाल्डो खुशी देखिएनन् । रोनाल्डो बेखुश देखिएपछि पिर्लोको अभिब्यक्ति थियो, ‘उनलाई उपयोग गर्दैगर्दा, आराम पनि दिन जरुरी छ । उनी चोट रहित रहनु, फ्रेस रहनु हाम्रा लागि महत्वपूर्ण छ ।’ 

 


Author

थप समाचार
x