खेलकुद

‘विन्टर ओलम्पिक बहिष्‍कार गर्नेलाई चीनले प्रतिबन्ध लगाउनेछ’

इकागज |
माघ २६, २०७७ सोमबार १५:४१ बजे

काठमाडौँ : सन् २०२२ मा बेइजिङमा आयोजना हुन लागेको विन्टर ओलम्पिक बहिस्कार गर्नुपर्ने पश्‍चिमा मुलुकहरूको अभियानलाई चीनले सशत्त प्रतिरोध गर्ने ग्लोबल टाइम्सका प्रधान सम्पादकले चेतावनी दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको सर्मथनमा सञ्‍चालन हुने अखबार ग्लोबल टाइम्सका प्रधान समपादक हु सिजिनले सोमबार त्यस्तो चेतावनी दिएका हुन् । 

‘बेइजिङ विन्टर गेम्सलाई बहिष्कार गर्छु भन्‍ने सोच सफल हुँदैन । यस्तो अभियानले समर्थन पाउने छैन । अन्तराष्ट्रिय ओलम्पिक कमिटी र खेलकर्मीले यसको विरोध गर्ने छन् । र, चीनले पनि यस्तो अभियान चलाउने कुनै पनि मुलुकलाई प्रतिबन्ध लगाउने नै छ,’ सिजिनले ट्‍वीट गर्दै चेतावनी दिएका छन् । 


सिजिनले आफ्नो ट्वीटमा बेलायती अखबार दि गार्डियनमा प्रकाशित समाचारको स्क्रिनसर्ट पनि समावेश गरेका छन् । जुन समाचारमा बेलायती सासंदले चिनियाँ राजधानीमा हुने भनिएको विन्टर ओलम्पिक बहिष्कार गरिनुपर्ने धारणा राखेका छन् । उता क्यानडामा पनि बेइजिङ विन्टर ओलम्पिक बहिस्कार गर्नुपर्ने माग उठिरहेको छ । गत साता मात्रै त्यहाँका सासंदले बेइजिङमा हुने प्रतियोगितामा भाग लिन नहुने भन्दै खुला पत्रमा लेखेका थिए । 

अमेरिकामासमेत कयौँ रिपब्लिकन सिनेटरहरूले बेइजिङबाट विन्‍टर ओलम्पिक अन्त सार्नुपर्ने माग गरिरहेका छन् । चीनले सिनजियाङमा उइगुरमाथि गरेको दमनको विरोध स्वरुप अमेरिकालगायतका मुलुकमा विन्टर ओलम्पिक बहिष्‍कार गर्नुपर्ने माग उठिरहेको छ । तर अमेरिकी सरकारले विन्टर ओलेम्पिकमा भाग लिन चाहाने खेलाडीहरूलाई रोक्न नसकिने प्रष्ट पारिसकेको छ ।  

२०२२ को फेब्रुअरी ४ बाट सुरु हुने विन्टर ओलम्पिक इतिहासकै बृहत हुने बताइएको छ । जहाँ खेलाडीहरूले एक सय नौ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । सन् २००८ मा समर ओलम्पिक सफलतापूर्वक आयोजना गरेको चीनले पहिलो पटक विन्टर ओलम्पिक आयोजना गर्न लागेको हो । यससँगै बेइजिङ विन्टर र समर ओलम्पिक आयोजना गर्ने विश्वकै एकमात्र सहर हुनेछ । साउथ चाइना मर्निङ पोस्टबाट 


Author

थप समाचार
x