खेलकुद

‘लिभरपुलले ह्यारी केन खरिद गर्नुपर्छ’

इकागज |
माघ २८, २०७७ बुधबार ७:९ बजे

काठमाडौँ : गत सिजन प्रिमियर लिग जितेको लिभरपुल यस सिजनमा भने फितलो देखिएको छ । घरेलु मैदानमा मात्रै लिभरपुलले तीन पराजय भोगिसक्यो । यसै साता म्यानचेस्टर सिटीसँग भारी अन्तरले पराजित भएपछि लिभरपुलले नयाँ खेलाडी खरिदमा ठूलो रकम खर्च गर्नुपर्ने आवश्यकता रहेको धारणा ब्यक्त भइरहेको छन् ।

लिभरपुलकै पूर्वखेलाडी जेमी क्यारागरले समेत योर्गेन क्लप नेतृत्वको टोलीले सरुवा बजारका लागि ठूलो बजेट छुट्टयाउनु पर्ने अभिब्यक्ति दिए । उनको अभिब्यक्तिमा लिभरपुलकै अर्का पूर्वखेलाडी स्टान कोलीमोरले पनि सर्मथन जनाए । लिभरपुलले ह्यारी केन जस्तो खेलाडी अनुबन्ध गर्नुपर्ने पूर्वखेलाडीहरूको भनाई थियो ।


‘क्लप लिभरपुल आउँदा क्लबमा राम्रा खेलाडीहरूको संख्या धेरै थिएन । टिम बलियो नभएकाले लिभरपुल छैठौँ वा सातौँ स्थानमा सिमित हुन्थ्यो,’ लिभरपुलका लागि लामो समय खेलेका पूर्वरक्षक क्यारागरले बेलायती टेलिभिजन च्यानल स्काई स्पोटर्ससँग कुरा गर्दै भने, ‘क्लपले पहिलो सरुवा बजारमा तीन खेलाडी खरिद गरे । माने, माटिप र वाइनाल्डम । जसले लिभरपुललाई च्याम्पियन्स लिगमा छनौट गराउन मुख्य भूमिका खेले । त्यसपछि सलाह, भान डाइक र एलिसन आइपुगे । जसले लिभरपुललाई उपाधि जित्‍ने टिम बनाए ।’

विगतमा खरिद गरेका खेलाडीले लिभरपुललाई लिगको मध्यमस्तरको टोलीबाट च्याम्पियन बनाएकाले फेरी पनि नयाँ खेलाडी खरिदमा जोड दिनुपर्ने क्यारागरको भनाई थियो । ‘लिभरपुल फेरी नयाँ खेलाडी खरिद गर्नुपर्ने अवस्थामा आइपुगेको छ । यस पटक उनीहरुले नयाँ रक्षक खरिद गरे । अर्को सरुवा बजारमा मिडफिल्डर र फरवार्ड भित्र्याउनु पर्छ,’ क्यारागरको भनाई थियो ।

उता कोलीमोरले लिभरपुलका मालिकहरुले सिटीसँग प्रतिस्पर्धा गर्न सरुवा बजारमा सक्रिय हुनैपर्ने बताए । ‘सिटीले सरुवा बजारमा जसरी पैसा खर्च गर्छ लिभरपुलले पनि त्यसरी नै खर्च गर्नुपर्छ । यदि सिटीले एर्लिङ हालान्ड खरिद गर्‍यो भने लिभरपुलको नजर केन जस्तो खेलाडीमा हुनुपर्छ’ कोलीमोरले बेलायती अखबार डेली मिररसँग भने ।


Author

थप समाचार
x