खेलकुद

‘लिभरपुलका सलाह अफ्रिकी मेस्सी हुन्’

इकागज |
माघ २८, २०७७ बुधबार १६:१६ बजे

काठमाडौँ : बार्यन म्युनिखका प्रमुख कार्यकारी अधिकृत कार्ल हेन्ज रुम्मेनिग्गे युरोपियन क्लब फुटबलमा स्थापित ब्यत्तित्व हुन् । उनी बारम्बार रोचक अभिव्यक्ति दिइरहन्छन् । यसपटक उनले लिभरपुलका फरवार्ड मोहम्मद सलाहका बारेमा धारणा राखेका छन् ।  

रुम्मेनिग्गेले इजिप्टको अन टाइम्स स्पोटर्ससँग कुरा गर्दै सलाह अफ्रिकाको लियोनल मेस्सी भएको बताएका हुन् । ‘मेरो विचारमा सलाह अफ्रिकाको मेस्सी हुन् । उनी उच्च कौशल भएका खेलाडी हुन् । उनी विश्वकै उत्कृष्ट क्लबहरूका लागि खेल्न योग्य छन् । उनले लिभरपुलमा जे जस्तो उपलब्धि हासिल गरेका छन्, त्यसलाई क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड र लियोनल मेस्सीले बार्सिलोनासँग हासिल गरेको उपलब्धिसँग दाज्न मिल्छ,’ रुम्मेनिग्गले भने । 


सन् २०१७ मा लिभरपुल आएका सलाह इजिप्टमा मात्रै होइन, पुरै अफ्रिका महादेशमा प्रख्यात छन् । योर्गेन क्लपको नेतृत्वमा लिभरपुलले च्याम्पियन्स लिग र प्रिमियर लिग उपाधि जित्दा सलाहको योगदान महत्वपूर्ण रह्यो । लिभरपुलको जर्सीमा एक सय ८४ खेल खेल्दा एक सय १५ गोल र ४५ असिस्टको योगदान गरेका सलाह यस सिजन पनि लिगको सर्वोच्च गोलकर्ता रहेका छन् । 

मर्सीसाईड क्लबमा महत्वपूर्ण उपाधि जितिसकेको २८ वर्षिय सलाह युरोपका अन्य ठूला क्लबहरूसँग जोडिँदै आएका छन् । बार्सिलोना र रियल जस्ता क्लबले उनलाई अनुबन्ध प्रस्ताव राख्नसक्ने आकलन गरिदैँ आइएको छ । त्यसै परिपेक्ष्यमा बार्यनका सिइओ रुम्मेनिग्गेलाई पनि उनको क्लबको नजर सलाहमाथि छ, छैन भनेर सोधियो । तर रुम्मेनिग्गेले सलाहलाई अनबन्ध गर्ने कुनै योजना नरहेको बताए । ‘सलाह हाम्रो क्लबमा फिट हुने खेलाडी हुन् । उनी हाम्रो क्लबमा आए भने हामी खुशी नहुने कुरै छैन । तर हाल उनलाई सरुवा प्रस्ताव राख्ने हाम्रो योजना छैन,’ रुम्मेनिग्गले भने । 

मेस्सीसँग सलाहको तुलना गरिएपनि इजिप्टका फरवार्ड गोल संख्यामा अर्जेन्टिनाका कप्तान भन्दा निकै पछाडि छन् । मेस्सीले बार्सिलोनाका लागि छ सय ५० गोल गरिसकेका छन् भने सलाह क्लब करियरको दुई सयौँ गोलको नजिक छन् । त्यस्तै क्लबस्तरमा मेस्सीले १० लिग उपाधि जितिसक्दा सलाहले तीन पटक मात्रै लिग जितेका छन् ।

राष्ट्रिय टोलीका लागि भने सलाहले छोटो समयमा धेरै गोल गरेका छन् । सलाहले ६८ खेलमा ४३ गोल गरेका छन् भने मेस्सीको नाममा एक सय ४२ खेलमा ७१ गोल रहेको छ । क्लबका लागि महत्वपूर्ण उपाधि जितेपनि दुबैले आ-आफ्नो राष्ट्रिय टिमलाई उपाधि भने जिताउन सकेका छैनन् । 


Author

थप समाचार
x