खेलकुद

दोस्रो टेस्टमा भारतको जित, सिरिजमा बराबरी

इकागज |
फागुन ४, २०७७ मंगलबार १३:२९ बजे

काठमाडौँ : इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । मंगलबार ४८२ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६४ रनमै अलआउट भएपछि भारतले ३१७ रनको फराकिलो जित हात पारेको हो ।

इंग्ल्याण्डलाई अलआउट गर्न भारतका डेब्यु स्पिनर अक्षर पटेलले पाँच विकेट लिए । उनले पहिलो पालीमा दुई विकेट लिएका थिए । यस्तै रविचन्दन आश्विनले तीन तथा कुलदिप यादवले दुई विकेट लिए । इंग्ल्याण्डका मोइन अलिले ४३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । 


त्यसअघि चेन्नेईमा टस जितेर ब्याटिङ थालेको भारतले पहिलो पालीमा ३२९ रन बनाएको थियो । उसका लागि रोहित शर्माले १६१ रन बनाए । यस्तै आजिन्क्या रहाणेले ६७ र रिषभ पन्तले ५८ रन बनाए । इंग्ल्याण्डका मोइन अलिले ४ विकेट लिए ।

इंग्ल्याण्डले पहिलो पालीमा १३४ रन बनायो । उसका लागि बेन फोक्सले ४२ रन बनाए । भारतले दोस्रो पालीमा २८६ रन बनायो । भारतका लागि रविचन्दन आश्विनले शतक बनाए । कप्तान विराट कोहलीले ६२ रन बनाए ।

पहिलो पालीमा १९५ रनको अग्रता जोगाएको भारतले समग्रमा ४८२ रनको लक्ष्य इंग्ल्याण्डलाई दियो । विशाल लक्ष्य पछ्याएको इंंग्ल्याण्ड भने १६४ रनमै अलआउट भयो । जितसँगै भारतले चार खेलको टेस्ट सिरिज एक एकको बराबरीमा ल्याएको छ । पहिलो टेस्ट भने इंग्ल्याण्डले जितेको थियो ।


Author

थप समाचार
x