महिला लिगमा च्याम्पियन एपीएफ अझै अपराजित
काठमाडौँ: महिला राष्ट्रिय फुटबल लिगमा बुधबार दुई खेल हुने तालिका थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिडे। दोस्रो खेलमा भने लिग लिडर एपीएफले बिराटनगर महानगरपालिकाको सामना गर्ने तालिका थियो ।
पहिलो खेल १-१ को बराबरीमा सकिएपछि, लिगमा अपराजित रहेको एपीएफ च्याम्पियन बन्ने पक्का भयो । दिनको अघिल्लो खेलमा दुई विभागिय टोलीले अंक बाढेपछि आर्मीले दोस्रो स्थानमा रहँदै लिग समापन गर्ने पक्का भयो । तर आर्मीको एपीएफसँगको अंक दूरी भने चार अंकमा पुग्यो । लिग विजेता बनिसकेको एपीएफका लागि विराटनगरविरुद्धको खेल अंक दुरीलाई अझ फराकिलो बनाउने मौका थियो । जसमा एपीएफ सफल भयो ।
अनिता केसीले खेलको एक मात्रै गोल गरेपछि एपीएफले लगातार ११ औँ जित दर्ता गर्यो । जितसँगै कान्छो विभागिय टोलीले ३३ अंक बनायो । उता पराजित बिराटनगर भने पछिल्लो अंक तालिकामा तेस्रो स्थानमा छ । १२ खेलबाट १६ अंक बटुलेको विराटनगरले एक खेलकम खेलेर १५ अंक बनाएको पुलिसलाई पछाी धकेलेको छ ।
खेलपछि प्रतिक्रिया दिँदै एपीएफकी प्रशिक्षक भगवती थापाले लिग जिते पनि आफ्नो मुख्य खेलाडीले चोट बोकेपछि खल्लो लागेको बताइन् । मंगलबार पुलिसविरुद्धको खेल दौरान चोट बोकेकी स्ट्राइकर सावित्रा भण्डारीतर्फ इङ्गित गर्दै प्रशिक्षक थापाले भनिन् ‘सावित्रा हाम्रो मुख्य खेलाडी हुन् । यस पटक लिगमा हाम्रो अधिकांश गोल उनैले गरेकी छिन् । उनी बिना हामीले विराटनगरको पोस्टमा धेरै गोल गर्न सकेनौँ,’
पराजित विराटनगरका प्रशिक्षक पारस चौधरीले आफ्ना खेलाडीहरुको प्रदर्शनमा सन्तुष्टी व्यक्त गरे । ‘हाम्रो लक्ष्य बराबरी गर्नुथियो । पहिलो हाफमाहामीले योजना मुताबिक खेल्यौँ । तर दोस्रो हाफमा खेलाडीहरु थाके । जसका कारण हामीले क्लिनसिट राख्न सकेनौँ,’ प्रशिक्षक चौधरीले भने । लिगमा आफुले सोचेको भन्दा राम्रो प्रदर्शन भएको पनि चौधरीको भनाई थियो ।
लिगमा १२ खेल खेलिसकेको विराटनगर तेस्रो स्थानमा रहेको भएपनि चौथौँ स्थानको पुलिसले आफ्नो अन्तिम खेलमा जित हासिल गरे अंक तालिकामा फेरबदल आउनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया