खेलकुद

‘वेङ्गरलाई सजिलै प्रतिस्थापन गर्न सकिने सोच्‍नु आर्सनलको गल्ती’

इकागज |
फागुन ६, २०७७ बिहीबार ६:५६ बजे

काठमाडौँ : आर्सन वेङ्गर आर्सनल प्रशिक्षण करियरको अन्तिम वर्षमा रहँदा लन्डन टिमको महत्वपूर्ण सदस्यमध्येका एक थिए, नाचो मोनरियल । फ्रेन्च प्रशिक्षकका भरपर्दा खेलाडी रहेका स्पेनी फुलब्याकले आर्सनलमा साढे पाँच वर्षको अवधिमा दुई सय ५१ खेल खेले । जसमा उनले ३० गोल र असिस्टको योगदान गरे ।

उनै मोनरियल हाल स्पेनी ला लिगा खेलिरहेका छन् । वेङ्गरले आर्सनल छाडेको एक वर्षपछि नै ला लिगा फर्किएका मोनरियलले हालै उनका पूर्व प्रशिक्षकका बारेमा मुख खोलेका छन् । मोनरियलले भनेका छन्, 'वेङ्गरले आर्सनलमा गरेको योगदानलाई सजिलै भुलियो । अनि उनलाई इमिरेट्स रंगशालामा प्रतिस्थापन गर्न ग्राहो नहुने ठानियो ।'


वेङ्गरको बर्खास्ती चाहेका आर्सनल सर्मथक उनको बर्हिगमनको तीन वर्षपछि पनि खुशी छैनन् । लिगमा आर्सनलले मध्यम शत्तिको परिचय बनाएको छ । ठूला क्लबलाई चुनौती दिन असफल रहँदै आएको छ । यस सिजन पनि लन्डन क्लब १० औँ स्थानमा अड्किएको छ । आर्सनलको अहिलेको अवस्थाले वेङ्गर कती प्रभावशाली प्रशिक्षक थिए भन्‍ने पुष्टी गरेको मोनरियलको तर्क छ ।

‘वेङ्गरले आर्सनलमा कुन स्तरको काम गरे, त्यस बारेमा भनिरहनु पर्दैन । उनले दिलाएको सफलता र उनको नेतृत्वमा क्लबले वर्षौसम्म प्राप्त गरेको स्थायित्वले सबै कुरा बोल्छ,’ युरोपा लिगमा इंग्लिस विपक्षी म्यानचेस्टर युनाइटेडसँग भिड्नुअघि दि टेलिग्राफसँग कुरा गर्दै मोनरियलले भने, ‘उनले आर्सनल परिवर्तन गरे । युवा खेलाडीलाई मौका दिए । लिग जिते । आर्थिक अवस्था सुधारका लागि मुख्य खेलाडीहरू बेच्‍नु परे पनि सधैँ प्रतिभाशाली युवा खेलाडीहरूलाई क्लबमा भित्र्याएर प्रदर्शन खस्कन दिएनन् । उनले छाडेपछि आर्सनलको अवस्था खराब छ । उनीहरू च्याम्पियन्स लिगमा छनौट हुन समेत सकेका छैनन् ।’

सन् २०१३ को जनवरीमा मालागाबाट आर्सनल आएका मोनरियल विश्व स्तरिय खेलाडी नभए पनि वेङ्गरको टिमको भरपर्दो खेलाडीका रुपमा रहे । उनलाई आर्सनल ड्रेसिङ रुममा प्रभाव पार्ने खेलाडीका रुपमा लिइन्थ्यो । उनले आर्सनलका अहिलेका प्रशिक्षक मिकेल आर्टेटासँग पनि खेल्न भ्याए । सँगै खेलेको अनुभव भएकाले मोनरियलले आर्टेटाका बारेमा टिप्पणी गरे ।

‘मिकेल आफ्नो रणनीतिमा सधैँ प्रष्ट रहन्छन् । उनीसँग आधुनिक फुटबल खेललाई बुझ्न सक्ने खुबी छ । खेलाडी रहँदा पनि उनी सधैँ सहकर्मीका कमीकमजोरी औल्याइदिन्थे । उनी जुनसुकै टिमलाई नेतृत्व दिन सक्षम छन्,’ मोनरियलले आर्टेकाबारेमा भने ।

रियल सोडिाडको जर्सीमा गत दुई वर्षदेखि खेलिरहेका मोनरियलले सान सेबस्टियन क्लबलाई ला लिगामा अप्रत्याशित शत्ति बन्‍न मद्दत गरेका छन् । म्यानचेस्टर सिटीबाट सोसिडाड पुगेका डेभिड सिल्भाका कारण पनि मोनरियलको क्लब झन बलियो बनेको छ । सिजनको सुरुवाती साताहरुका शर्षि स्थानमा रहेको सोसिडाड हाल पाँचौ स्थानमा छ । जुन सोसिडाडाका लागि उत्साहजनक उपलब्धि हो ।

‘आडेगार्ड रियल म्याड्रिड फर्कने भएपछि सोसिडाडमा नयाँ प्लेमेकरको आवश्यकता पर्‍यो । त्यसै अनुरुप सिल्भा आइपुगे । जसको उपस्थितीमा हामी सन्तुलित टिम भएका छौँ,’ मोनरियलले भने । 


  
  
 


Author

थप समाचार
x