खेलकुद

सिरी ए : स्वभाविक हैसियतमा फर्केको मिलान डर्बी

इकागज |
फागुन ८, २०७७ शनिबार १४:४५ बजे

काठमाडौँ : गत सिजन इन्टर मिलान सिरी ए उपाधि नजिक थियो । इन्टरले एक अंकले लिग उपाधि गुमाउँदा सहरी प्रतिद्वन्द्वी एसी मिलान भने छैँठौँ स्थानमै सिमित भयो । त्यस अघिका पाँच सिजन दुवै क्लब उपाधि दौडमा देखिएनन् । त्यसकारण विश्‍वभर नै हेरिँदै आइएको मिलान डर्बीले इटालियन लिग उपाधि दौडमा कुनै अर्थ राखेन । 

तर यस सिजन भने अवस्था फेरिएको छ । फुटबल त्यसै पनि चक्रिय हुन्छ । संघर्षरत मिलान क्लब फेरी इटालियन फुटबलको शीर्षस्थानमा फर्केका छन् । त्यसकारण मिलान डर्बीले उपाधि दौडमा फरक पार्ने अवस्था बनेको छ । यस आइतबार त्यही महत्वूर्ण मिलान डर्बीमा पहिलो स्थानको इन्टर र दोस्रो स्थानको मिलान आमने-सामने हुँदैछन् । जारी सिजनमा दुई पटक भिडिसकेका ज्लाटन इब्राहिमोभिच र रोमेलु लुकाकु एकपटक फेरी सान सिरोमा आ-आफ्नो टिमका लागि गोल गर्न तयार छन् ।
 
लुकाकु यस सिजन बलियो लयमा छन् । गत सोमबार उनकै दुई गोलको मद्दतले इन्टरले बलियो प्रतिद्वन्द्वी लाजियोलाई ३-१ हराउँदै शीर्षस्थानमाथि कब्जा जमायो । उता मिलान भने एकदिन अघि कमजोर स्पेजियासँग पराजित भएको थियो । एक अंकको दूरीमा रहेका यी दुई क्लबका लागि मिलान डर्बी त्यसकारण पनि महत्वपूर्ण छ ।
  
सिजनको पहिलो मिलान डर्बीमा मिलान विजयी भएको थियो । आइतबार साँझ हुने खेल इन्टरका सामु बदला लिने र अंक दूरी बढाउने मौका हो । गत बिहीबार मात्रै युरोपा लिगमा भिडेको मिलानका सामु मिलान डर्बीका लागि तयारी गर्ने समय कम छ । उता इन्टर भने च्याम्पियन्स लिगबाट बाहिरिएपछि घरेलु लिगमै केन्द्रित छ ।


त्यसकारण एन्टोनियो कोन्टेको टिमले मिलानविरुद्धको खेलका लागि पर्याप्त मौका पाएको छ । लिगको पहिलो डर्बी हारे पनि घरेलु कपमा बदला लिएको इन्टर ‘हेड टु हेड’ मा आफ्नो अग्रता बढाउन चाहान्छ । इन्टरले पछिल्ला छ भेटमा पाँच जित हासिल गरेको छ ।

फुटबल त्यसै पनि चक्रिय हुन्छ । संघर्षरत मिलान क्लब फेरी इटालियन फुटबलको शीर्षस्थानमा फर्केका छन् । त्यसकारण मिलान डर्बीले उपाधि दौडमा फरक पार्ने अवस्था बनेको छ । 

पछिल्लो पटक सन् २०१०/११ मा लिग जितेको मिलानले यस पटक इन्टरलाई दुवै खेलमा हराए नयाँ कीर्तिमान बन्‍नेछ । लिगको तेस्रो स्थानमा रहेको एएस रोमा भने मिलान डर्बी बराबरीमा टुङ्गियोस भन्‍ने चाहान्छ । शीर्षस्थानबाट सात अंकको दूरीमा रहेको रोमा १५ औँ स्थानको बेनेभेन्टोसँग भिड्दैछ । मिलान डर्बी बराबरीमा सकिए र आफ्नो खेलबाट पूरै तीन अंक बटुले रोमा शीर्ष दुईमा रही लिग समापन गर्ने बाटोमा अघि बढ्नेछ ।
 
चौँथौँ स्थानको युभेन्टसले सोमबार क्रोटोनेको सामना गर्दैछ । रोमाको भन्दा एक अंक कम रहेको युभेन्टस पछिल्ला दुई खेलमा क्रोटोनेसँग रोकिएको थियो । आधा दर्जन मुख्य खेलाडी बिना टुरिन रंगशालामा उत्रने युभेन्टसलाई च्याम्पियन्स लिगमा भोगेको पराजय बिर्सन क्रोटोनेविरुद्ध अनिवार्य जितको आवश्यकता छ ।
  
उता शीर्ष चारमा रही युरोपका लागि छनौट हुने दौडमा रहेका नेपोली र एटलान्टा पनि आइतबार नै भिड्दैछन् । युरोपा लिगमा यसै साता ग्रानाडासँग हारेको नेपोलीका प्रशिक्षक गेनारो गाटुसो महत्वपूर्ण खेलाडीले चोट बोकेका कारण चिन्तामा छन् । नेपोलीका ड्राइस मर्टेन्स, कोस्टास मनोलस, हाइरभिङ लोजानो र एलसेड हिसाज चोटग्रस्त भएकाले गाटुसोसँग सिमित विकल्प छन् । 

नेपोलीको जति नै अंक बनाएको लाजियोले साम्पडोरियालाई आतिथ्यता प्रदान गर्दैछ । जारी लिगको पहिलो लेगमा नेपोलीलाई हराएको साम्पडोरियाले यस वर्ष उत्कृष्ट लय कायम गरेको छ । आठ खेलबाट १९ अंक बटुलेको साम्पडोरिया अंक तालिकाको १० औँ स्थानमा छ ।   


Author

थप समाचार
x