भारतीय टि-ट्वान्टी टिममा समेटिए आइपीएल स्टार
काठमाडौँ : इंग्ल्याण्डविरुद्ध हुने टी-ट्वान्टी श्रृङ्खलाका लागि घोषित टिममा भारतले इन्डियन प्रिमियर लिग (आइपीएल) स्टारहरुलाई समेटेको छ । मार्च १२ देखि सुरु हुने टी-ट्वान्टी श्रृङ्खलाका लागि भारतीय टिममा आइपीएलमा चम्केका वरुण चक्रवर्ती, राहुल तेवतिया, इशान किशान र सुर्य कुमार यादव परेका हुन् । अहमदाबादमा हुनै पाँच खेलको श्रृङ्खलामा जस्प्रित बुमराह भने हुने छैनन् ।
भारतयि टिममा परेका चक्रवर्तीले सन् २०१९ बाट आइपीएल करियर सुरु गरेका थिए । २७ वर्षको उमेरमा किंग्स इलेभेन पन्जाबसँग अनुबन्धित भएका चक्रवर्तीले त्यस सिजन एक खेल मात्रै खेलेका थिए । आइपीएलको डेब्यु खेलमा सबैभन्दा धेरै रन खर्चिने कीर्तिमान बनाएका चक्रवर्तीलाई पन्जाबले रिलिज गरेको थियो । गत सिजन भने उनलाई कोलकता नाइट राइडर्समा मौका पाए । जहाँ उनले सन्तोषजनक प्रदर्शन गर्दै १३ खेलमा १७ विकेट लिए ।
आइपीएलमा देखाएको लयका कारण चक्रवर्तीलाई अस्ट्रेलिया भ्रमणमा निस्केको भारतीय टिमको टि-ट्वान्टी टोलीमा समावेश गरियो । तर काँधको चोटका कारण उनी अस्ट्रेलिया भ्रमणमा निस्कन पाएनन् ।
उता तेवतिया पनि गत सिजनको आइपीएलमा बलियो प्रदर्शन गर्ने भारतीय खेलाडीमध्येका एक हुन् । राजस्थान रोयल्सबाट खेलेका तेवतियाले १४ खेलमा दुई सय ५५ रन बनाएका थिए भने १० विकेट लिएका थिए । पन्जाबका शेल्डन कोट्रेलविरुद्व एकै ओभरमा पाँच छक्का प्रहार गरेर चर्चा बटुलेका हरियाणका अलराउण्डर तेवतिया भारतीय टिमका लागि बलियो हतियार बन्ने अपेक्षा गरिएको छ ।
तेवतियासँगै भारतीय टिममा परेका ब्याट्सम्यान यादव र विकेटकिपर किशनले मुम्बई इन्डियन्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । भेट्रान बलर भुवनेश्वर कुमार पनि चोटमुक्त हुँदै घोषित १९ सदस्य टिममा फर्केका छन् । विश्ववकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामा हुने खेलहरुका लागि पाहुना टोली इंगल्यान्डले यसअघि नै टिमको घोषणा गरिसकेको छ ।
भारतीय टिमः विराट कोहली (कप्तान), रोहति शर्मा, के.एल राहुल, शिखर धवन, श्रेयस ऐयर, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, रिशब पन्त, इशान किशान, युज्भेन्द्र चहाल, वरुण चक्रवर्ती, अक्षर पटेल, वासिङ्टन सुन्दर, राहुल तेवतिया, टि.नटराजन, भुवनेश्वर कुमार, दिपक चहार, नवदिप शैनी र शार्दुल ठाकुर ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया