खेलकुद

आर्सनलविरुद्ध म्यानचेस्टर सिटी : अर्को कठिन परीक्षामा आर्टेटा

इकागज |
फागुन ९, २०७७ आइतबार १७:९ बजे

काठमाडौँ  : प्रिमियर लिगमा आर्सनलले आइतबार म्यानचेस्टर सिटीलाई आतिथ्यता प्रदान गर्दैछ । लिगको शीर्षस्थानमा रहेका सिटी लिग खेल खेल्न पछिल्लो पटक इमिरेट्स रंगशाला पुग्दा मिकेल आर्टेटा पेप ग्वार्डिओलाकै सहायक थिए । त्यसबेला सिटीलाई ३-० को जित दर्ता गर्न सहयोग गरेका आर्टेटा आइतबार भने ग्वार्डिओलाको विपक्षमा हुनेछन् । डिसेम्बर १५,२०१९ को त्यो खेलको पाँच दिन पछि नै आर्टेटा आर्सनलतर्फ हानिएका थिए ।

त्यसबेलाको माहोल सम्झिदै आर्टेटा भन्छन्, ‘मेरो प्रतिनिधी र आर्सनलबीच कुरा भइरहेको थियो । त्यहीबीचमा आर्सनल र सिटीबीच खेल हुने तालिका थियो । इमिरेट्समा भएको त्यस खेल दौरान आर्सनल सर्मथकले देखाएको उत्साहले मलाई प्रभावित बनायो । इमिरेट्सको त्यो माहोल गज्जबको थियो ।’  आर्टेटाले त्यस खेल दौरान महसुस गरेको माहोल गज्जब भएपनि आर्सनलको प्रदर्शन र नतिजा बिर्सनलायकको थियो । लन्डन क्लब पहिलो हाफमै तीन गोलले पछि पर्‍यो । दोस्रो हाफमा परिवर्तन भएका मेसुट ओजिलको प्रतिक्रिया समाचारको हेडलाइन बन्न लायकको थियो । सायद त्यस खेलले आर्टेटालाई आर्सनलको बसाई कस्तो हुनेवाला छ भन्‍ने मा छनक दिएको थियो । 


आर्टेटा आर्सनल प्रशिक्षक बनेको १४ महिना बितिसकेको छ । लिगमा खासै राम्रो गर्न नसकिरहे पनि आर्टेटाले विश्वास गुमाइनसकेको अवस्था छ । आइतबारको खेलमा सिटी बलियो टिमका रुपमा इमिरेट्स पुग्‍ने भएपनि आर्टेटा हतोत्साहित देखिने छैनन् । एफए कपमा आफ्नो पूर्वक्लबलाई हराएको अनुभव बोकेका आर्टेटा फेरी पनि सिटीलाई स्तब्ध पार्ने रणनीतिमा हुनेछन् । 

आर्सनलमा उत्कृष्ट पहिलो ११ पहिचान गर्न धेरै समय लगाएका आर्टेटाले पछिल्ला दुई खेलमा खेलाडी परिवर्तन गरेनन् । घरेलु लिगमा लिड्स युनाइटेडलाई पराजित गरेको पहिलो एघारलाई उनले युरोपा लिगमा बेनफिकासँगको खेलमा पनि प्रयोग गरे । जसमा बुकायो साका, एमाइल स्मिथ रो र मार्टिन ओडागार्ड जस्ता युवा प्रतिभाले अग्रपंक्ति समहालेका थिए । आर्टेटासँग अनुभवी फरवार्ड नभएका होइनन् । तर आर्टेटाले युवा खेलाडीलाई नै मुख्य हतियार बनाउने संकेत दिएका छन् ।

लिगमा आर्सनल १० औँ स्थानमा छ । पछिल्ला तीन खेलमध्ये दुईमा हार ब्यहोरेको छ । नतिजा निराशाजनक देखिए पनि लन्डनको टिममा केही सकारात्मक पाटाहरू पनि देखिएका छन् । सकारात्मक माहोल बनाउने अरु कोही नभएर तीनै युवा खेलाडी हुन् । जारी लिगमा पाँच गोल र तीन असिस्टको योगदान गरेका साका हुन् वा रियल म्याड्रिडबाट आएका ओडेगार्ड, यी खेलाडीहरूले आर्सनल सर्मथकमाझ आर्कषक फुटबल पस्कने प्रयास गरिरहेका छन् । यी खेलाडीहरूलाई साथ दिनेछन् थोमस पार्टेले । सजिलै गोल खाने टिमको परिचय बनाएको आर्सनललाई ‘डिफेन्सिभ मिडफिल्ड’ बाट बलियो बनाउने प्रयासमा रहेका पार्टेलाई डानी सेवालोस र ग्रनिट जाकाको साथ रहनेछ । 

लगातार दुई खेल खेलेका युवा फरवार्डलाई आर्टेटाले सिटीसँगको खेलमा भने बेन्चमा राख्‍ने सम्भावना छ । तर त्यसो गर्दा आर्टेटा भयरहित भने हुनेछैनन् । विलियान र निकोलस पेपे जस्ता सिनियर खेलाडीहरूले भनेजस्तो खेल देखाउन नसकिरहेका बेला आर्टेटालाई खेल जिताउन सक्ने खेलाडीको अभाव हुनसक्छ । अलेजान्द्रे लाकाजेट पहिलो रोजाइका स्ट्राइकर पेयर एमरिक आबुमेयाङको स्थानमा खेल्न सक्ने भएपनि ग्राब्रियल मार्टिनेली र एड्डी नेकटियाले यस सिजन पर्याप्त खेल्ने मौका पाएका छैनन् । जसका कारण सिटी जस्तो बलियो टिमका विरुद्व उनीहरूलाई मैदान उतारिए आर्सनल झन फिक्का देखिने डर छ ।    

आर्सनलले सिटीसँगको खेलपछि लेस्टर, टोटनहम, वेस्टह्याम र लिभरपुलको सामना गर्नेछ । त्यसैले पनि आर्टेटाका अगाडि साका लगायतका खेलाडीहरूलाई ताजा राख्ने चुनौती छ । त्यति मात्रै होइन, आर्टेटाको नेतृत्वमा आर्सनल उकालो लागिरेहको छ भन्‍ने सन्देश दिन पनि आगामी खेलहरूबाट सकारात्मक नतिजा निकाल्ने चुनौती छ । त्यसो त सिटीमा ग्वार्डिओला र आर्टेटाको जोडीको खेल विधि सफल हुन समय लागेको थियो । त्यसकारण आर्सनलमा आर्टेटाले भनेजस्तो खेल पस्कन समय लाग्नेछ । त्यस परिपेक्ष्यमा मुख्य प्रश्न भनेको, आर्सनल बोर्डले आर्टेटालाई पर्याप्त समय दिन्छ, दिदैन भन्‍ने हो । 


Author

थप समाचार
x