खेलकुद

मोनाकोले पीएसजीलाई फेरि हरायो, लिग वानको उपाधि होड खुल्ला

इकागज |
फागुन १०, २०७७ सोमबार ११:५५ बजे

काठमाडौँ : फ्रेन्च लिग वानमा आइतबार मोनाकाले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-० ले स्तब्ध बनायो । बार्यन म्युनिखका पूर्वप्रशिक्षक निको कोभाचको नेतृत्वमा रहेको मोनाकोका लागि सोफियाने डियोप र गुइलेरमो मार्पियनले एक-एक गोल गरे । 

जारी सिजनको पहिलो लिगमा पनि मोनाकोसँग हारेको पीएसजी आफ्नै मैदानमा पनि हार्दा लिग वानको उपाधि होड खुल्ला भएको छ । ५८ अंकसहित लिल शीर्षस्थानमा रहँदा दोस्रो र तेस्रो स्थानमा रहेका लियोन र पीएसजीको क्रमशः ५५ र ५४ अंक छ । उता च्याम्पियनलाई हराएको मोनाको भने ५२ अंक सहित चौँथौँ स्थानमा यथावत छ । 


नेयमारको अनुपस्थितिमा पीएसजीको आक्रमणमा जिम्मा लिएका किलियान एमबाप्पे आफ्नो पूर्वक्लबविरुद्व उत्रँदा फिक्का देखिए । गत साता बार्सिलोनासँगको खेलमा ह्याट्रिक गरेका युवा फरवार्ड एमबाप्पेलाई कोभाचका रक्षकले चल्न दिएनन् । ‘हामीले पीएजीलाई धेरै मौका सिर्जना गर्न दिएनौँ । मेरा खेलाडीहरुले योजना मुताविक खेले । त्यसकारण एमबाप्पेलाई रोक्न सकियो । तर उनलाई रोक्न मुश्किल थियो,’ कोभाचले खुशी व्यक्त गरे । 

पीएसजी सात सिजनपछि एउटै क्लबसँग दुवै खेलमा पराजित भएको हो । यसअघि पीएसजी सन् २०११/१२ सिजनमा न्यान्सीसँग लिगका दुई खेलमै हारेको थियो । जारी सिजनमा छ खेलमा हार ब्यहोरिसकेको पीएसजीले लिग उपाधि रक्षा गर्ने सम्भावना कम हुँदै गएको छ ।


Author

थप समाचार
x