खेलकुद

बुन्डेसलिगा

लाइपजिगले खुल्ला बनाएको उपाधि होड

इकागज |
फागुन ११, २०७७ मंगलबार ६:४८ बजे

काठमाडौँ : जर्मनीको बुन्डेसलिगामा २२ चरणका खेलहरु सम्पन्‍न हुँदा उपाधि होड खुल्ला बन्दै गएको छ । सिजनको सुरुवातबाटै बलियो खेल देखाइरहेको च्याम्पियन बार्यन म्युनिख गएको शनिबार फ्रान्कफर्टसँग स्तब्ध भएपछि आरबी लाइपजिगले अंक दुरी घटायो । लिगमा जम्मा तीन हार ब्यहोरेको बार्यनले ४९ अंक बनाएको छ भने दोस्रो स्थानको लाइपजिग दुई अंकले पछि छ ।

त्यस्तै तेस्रो र चौँथौँ स्थानमा रहेका वुल्फसबर्ग र फ्रान्कफर्टको समान ४२ अंक छ । यी दुई टिमले अहिलेसम्म दुई/दुई खेलमात्रै हारेका छन् । शीर्ष दुईबीच घटिरहेको अंक दुरी र शीर्ष चारमा अट्न भइरहेको प्रतिस्पर्धाले बुन्डेसलिगा झन् रोचक बन्दै गइरहेको छ । यी बाहेक अन्य केही कारणहरुले पनि बुन्डेसलिगा गएको साता अन्तराष्ट्रिय सञ्चार माध्यममा छायो । जसका बारेमा यस आलेखमा चर्चा गरिनेछ ।


साल्का रेलिगेसन नजिक 
जर्मनीमा ठूला क्लबहरूको सूची बनाउँदा साल्काको नाम पनि समावेश गरिन्छ । तर साल्का पछिल्ला केही वर्ष देखि खस्कदै गएको छ । यस सिजन त साल्काले एउटा मात्रै खेल जितेको छ । सात पटकको जर्मन च्याम्पियन साल्काले नौँ अंक मात्र बटुलेको छ । र, अंक तालिकाको अन्तिम स्थानमा सिमित छ ।

सन् २०१७/१८ सिजनमा बुनडेसलिगाको दोस्रो स्थानमा रहेको साल्काको समस्या गत साता सहरी प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डसँग पराजित भएपछि झन् गहिरिएको छ । लगातारको खराब प्रदर्शनले साल्कालाई रेलिगेसनको नजिक पुर्‍याएको छ । डर्टमन्डसँगको डर्बीखेल अघि क्लबका बोर्ड सदस्य अलेक्जान्डर जोब्सटले समेत साल्का रेलिगेसनमा पर्ने निशिचत जस्तै भएको बताएका थिए ।

मार्को रोसको बर्हिगमन 
गएको साता बोरुसिया मन्चुनग्लाडबागका समर्थकले निराश खबर सुन्‍नुपर्‍यो । जुन थियो, प्रशिक्षक मार्को रोसले मन्चुनग्लाडबाग छाड्ने गरेको घोषणा । पहिलो सिजनमै मन्चुनग्लाडबागलाई च्याम्पियन्स लिगमा छनौट गराएर समर्थकमाझ लोकप्रिय बनेका रोस अर्को सिजन बोरुसिया डर्टमन्डको प्रशिक्षक बन्‍नेछन् ।

रोसले क्लब छाड्ने घोषणाले निराश बनेका मन्चुनग्लाडबाग समर्थक मेन्जसँगको पराजयले झन् पिरोलिए । मेन्जविरुद्ध ब्यहोरेको अप्रत्याशित हारपछि प्रशिक्षक रोसले आफूले गरेको क्लब छाड्ने घोषणाले टिमको प्रदर्शनमा असर पुगेको स्विकार गरे ।

लगातार चार खेलमा जित हासिल गर्न नसकेको मन्चुनग्लाडबागले आगामी साता अझै कठिन समयको सामना गर्नुपर्ने देखिएको छ । घरेलु लिगमा आठौँ स्थानमा झरेको मन्चुनग्लाडबागले च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यानचेस्टर सिटीको सामना गर्दैछ । बलियो सिटीसँगको खेलमा मन्चुनग्लाडबागले अंक गुमाए, त्यसले क्लबभित्रको माहेल झनै खराब बनाउने पक्का छ । 

उपाधि दौड 
बार्यन म्युनिखले जर्मन लिगमा वर्षौ देखि एकछत्र प्रभाव जमाउँदै आएको छ । लगातार आठ पटक बुन्डेसलिगा जितेको बार्यनलाई यसपटक भने आरबी लाइपजिगले बलियो चुनौती दिइरहेको छ । पछिल्लो खेलमा फ्रान्कफर्टसँग हारेको बार्यनलाई खेलाडीको चोटले पनि सताएको छ ।

थोमस मुलर, सर्ज गनाब्री, डगलस कोस्टा, कोरेनटिन टोलिसो, बेन्जामिन पाभार्ड जस्ता खेलाडी मैदान बाहिर रहेकाले प्रशिक्षक हान्स फ्लिकसँग थोरै विकल्प छन् । जसका कारण, बार्यन रक्षापंक्तिमा कमजोर देखिँदा पनि फ्लिकले टिममा परिवर्तन गर्न सकेका छैनन् ।


Author

थप समाचार
x