खेलकुद

'हालान्ड खरिद गर्न चार इंग्लिस क्लब सक्षम'

इकागज |
फागुन १२, २०७७ बुधबार १४:५६ बजे

काठमाडौँ : युरोपियन क्लब फुटबलमा एर्लिङ हालान्डको लोकप्रियता क्रमशः बढिरहेको छ । नर्वेको मोल्डेबाट जर्मन क्लब बोरुसिया डर्टमन्ड आएपछि हालान्डले अन्य ठूला क्लबको नजरमा पर्ने गरी खेल देखाइरहेका छन् । डर्टमन्डको जर्सीमा कुल ४३ खेल खेल्दै त्यत्ति नै संख्यामा गोल गरेका हालान्ड आउँदो सरुवा बजारमा स्थान्तरण हुने सम्भावना रहेको बताउन थालिएको छ ।

यसै सन्दर्भमा २० वर्षीय स्ट्राइकरका एजेन्ट रहेका मिनो राइओलाले आफ्नो भनाई सार्वजानिक गरेका छन् । पउल पोग्बा, माथ्थिस डि लाइट जस्ता खेलाडीका समेत एजेन्ट रहेका राइओलाले हालान्डलाई अनुबन्ध गर्न युरोपका १० क्लब सक्षम रहेको बताएका छन् । त्यसमा पनि चार क्लब भने इंगल्यान्डको भएको उनको भनाई थियो । 


रेडबुल साल्जबर्गमा रहँदै ठूला क्लबहरूको नजरमा परिसकेका हालान्डले डर्टमन्डमा उतकृष्ट प्रदर्शन गरिरहँदा उनलाई क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र ज्लाटन इब्राहिमोभिच जस्ता खेलाडीहरुलाई प्रतिस्थापन गर्नसक्ने फरवार्डका रुपमा लिन थालिएको छ । ‘रोनाल्डो, मेस्सी, ज्लाटन जस्ता स्टारहरू करियरको उर्ताद्धमा पुग्दा हालान्ड तीनलाई प्रतिस्थापन गर्नसक्ने हैसियत भएका युवा प्रतिभा हुन् । हालान्डको जस्तो कौशल भएका कमै युवा खेलाडी छन् । त्यसैले पनि आउँदो सरुवा बजारमा उनलाई खरिद गर्न ठूला क्लब अगाडि आउने नै छन् । तर उनलाई अनुबन्ध गर्न १० क्लब मात्रै सक्षम छन् । त्यसमा चार क्लब इंग्लिस छन्,’ राइओलाले भने । तर राइओलाले ती क्लबहरुको नाम भने उल्लेख गरेनन् । 

नर्वे राष्ट्रिय टोलीका मुख्य हतियार रहेका हालान्डको डर्टमन्डसँगको सम्झौता सन् २०२४ सम्मको रहेको छ । तर सम्झौता सकिनुअगाबै हालान्ड अर्को लिग जाने सम्भावना बलियो छ । विभिन्‍न क्लबहरु हालान्डलाई भित्र्याउने दौडमा लागिसकेका छन् । जसमा बार्सिलोना पनि एक हो । बार्सिलोनाको आगामी निर्वाचनमा अध्यक्षको प्रत्याशी रहेका टोनी फ्रेइक्साले आफू विजयी भए हालान्डलाई अनुबन्ध गर्न प्रयास गर्ने बताइसकेका छन् । 

उता बार्सिलोनाको प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड पनि हालान्डलाई खरिद गर्ने दौडमा छ । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारले आफूले नर्वेजियन खेलाडीको प्रदर्शन नियालिरहेको बताइसकेका छन् । इंगल्यान्डकै लिभरपुल, मयानचेस्टर सिटी, चेल्सी पनि हालान्डलाई अनुबन्ध गर्न इच्छुक रहेको बताइदै आएको छ । 


Author

थप समाचार
x