खेलकुद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा विश्‍वकै ठूलो क्रिकेट रंगशाला

इकागज |
फागुन १२, २०७७ बुधबार १६:५८ बजे

काठमाडौँ: विश्‍वकै ठूलो क्रिकेट रंगशाला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा राखिएको छ । भारतको अहमदाबाद सहरमा अवस्थित नव निर्मित क्रिकेट रंगशालालाई त्यहाँका प्रधानमन्त्री मोदीको नाम दिइएको हो । 

भारतीय राज्य गुजरातको सबैभन्दा ठूलो सहर रहेको अहमदाबादमा रहेको सो रंगशालामा एक लाख १० हजार मानिस बसेर खेल हेर्न सक्छन् । गुजरातको मुख्यमन्त्री रहँदा मोदीको आकंक्षामा पुनः निर्माण गरिएको सो रंगशाला यसअघि मोटेरा रंगशालाको नामबाट परिचित थियो ।


भारत भ्रमणमा रहेको इंगल्यान्डको क्रिकेट टिमसँगकाे टेस्ट खेल अगाडि रंगशालाको नामकरण गरिएको हो । एक कार्यक्रमका बीच भारतीय राष्ट्रपति राम नाथ कोभिन्दले रंगशालाको नाम परिवर्तन भएको घोषणा गरे । 

सन् १९८२ मा निर्माण गरिएको मोटेरा रंगशालालाई पूर्णरुपमा भत्काएर नयाँ बनाउने निर्णय गरिएको थियो । गुजरातका तत्कालिन मुख्यमन्त्री मोदीले उक्त रंगशालालाई विश्वकै ठूलो क्रिकेट रंगशालामा परिणत गर्ने योजना बनाएपछि त्यसमा काम गरिएको भारतीय गृहमन्त्री अमित शाहको भनाइ थियो ।  

करिब १० करोड अमेरिकी डलर खर्च गरेर पुनःनिर्माण गरिएको यो रंगशालाले यसअघि विश्वकै ठूलो क्रिकेट रंगशालाका रुपमा चिनिएको मेलबर्न क्रिकेट मैदानलाई दर्शक क्षमतामा उछिनेको छ ।  

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेका बखत यही रंगशालामा कार्यक्रम गरिएको थियो । त्यसबखत यस रंगशालालाई सरदार बल्लभभाई पटेल रंगशालाको नाम दिइएको थियो ।


Author

थप समाचार
x