खेलकुद

इंग्ल्याण्ड ११२ रनमै अलआउट

इकागज |
फागुन १३, २०७७ बिहीबार ७:२९ बजे

काठमाडौँ : भारतविरुद्धको तेस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा इंग्ल्याण्ड ११२ रनमै अलआउट भएको छ । भारतकै सबैभन्दा ठूलो अहमदाबाद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली इंग्ल्याण्ड पहिलो पालीमा ११२ रनमै अलआउट भएको हो ।

इंग्लिस टोलीका लागि ज्याक क्रवलीले ५३ रन बनाउनुबाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन् । झण्डै दुई घण्टा क्रिजमा टिकेका उनले ८४ बलको सामना गरेर १० चौकाका साथ अर्धशतकीय पारी खेल्दै ५३ रन बनाएका हुन् । कप्तान जोय रुटले १७ रन बनाए ।


इंग्ल्याण्डलाई सस्तैमा अलआउट गर्न भारतका युवा स्पिनर अक्षर पटेलले ६ विकेट लिए । २१ ओभर बलिङ गरेका उनले ६ मेडन राख्दै ३८ रन खर्चेर ६ विकेट लिएका हुन् । यस्तै रविचन्दन आश्विनले ३ विकेट लिए । आफ्नो करियरमा १०० औँ टेस्ट खेलेका इशान्त शर्माले १ विकेट लिए ।

बुधबार नै आफ्नो पहिलो पाली थालेको भारतले खराब सुरुवात गरेको छ । डे नाइट टेस्टमा पहिलो दिनको खेल सकिदा भारतले ३ विकेट गुमाएर ९९ रन बनाएको छ । घरेलु टोली अझै १३ रनले पछाडी छ । भारतका लागि ओपनर ब्याट्सम्यान रोहित शर्माले अर्धशतक बनाएका छन् । 

उनी ५७ रनमा नटआउट छन् । शुभमान गिल ११, चेतेश्वर पूजारा शून्य र कप्तान विराट कोहली २७ रनमा आउट भएपनि अर्को इण्डबाट रोहितले टिकेर ब्याटिङ गरिरहेका छन् । पाँचौ ब्याट्सम्यानका रुपमा क्रिजमा आएका उपकप्तान आजिन्क्या रहाणे १ रनमा नटआउट छन् । 

चार खेलको सिरिज एक–एकको बराबरीमा छ । यो सिरिज जित्ने टोलीले न्युजिल्याण्डसँग विश्व टेस्ट च्याम्पियनशिपको फाइनल खेल्नेछ । 


Author

थप समाचार
x