खेलकुद

च्याम्पियन्स लिग उपाधिको दाबेदार सिटी होइन, बार्यन हो : पेप ग्वार्डिओला

इकागज |
फागुन १३, २०७७ बिहीबार ११:४२ बजे

काठमाडौँ : म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा छ । लिग उपाधि जित्‍ने लय देखाइरहेको सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पनि नजिक पुगेको छ । यससँगै पेप ग्वार्डिओलाको सिटीलाई पहिलो पटक युरोपियन कलब फुटबलको सबैभन्दा ठूलो उपाधि जिताउने महत्वकांक्षा पुरा हुने सम्भावना बलियो बन्दै गएको छ ।

तर स्पेनी प्रशिक्षक ग्वार्डिओला आफ्नो टिम भन्दा बार्यन म्युनिख नै बलियो भएको बताउँछन् । बुधबार जर्मन विपक्षी बोरुसिया मन्चुनग्लाडबागलाई २–० ले हराएपछि प्रतिक्रिया दिदै ग्वार्डिओलाले बार्यन च्याम्पियन्स लिग उपाधि दौडमा सबैभन्दा बलियो टिम रहेको बताए । 


‘हामीले यो खेल त जित्यौँ । तर हामीले दुई भन्दा बढी गोल गर्नुर्थ्यो । हामी अग्रपंक्तिमा अझ बलियो हुन आवश्यक छ । म बार्यनको खेल हेरिरहेको छु । उनीहरू धेरै बलिया छन् । पर्याप्त गोल गरिरहेका छन्,’ ग्वार्डिओलाले भने ।

मन्चुनलग्लाडबागलाई हराएसँगै सबैखाले प्रतियोगितामा गरी लगातार १९ औँ जित निकालेको सिटीलाई च्याम्पियन्स लिगको पनि दाबेदार टोली मानिएको छ । तर ग्वार्डिओला मान्‍न तयार देखिएनन् । ‘हामीलाई मानिसहरु दाबेदार मान्छन् भन्‍ने स्वीकार गर्नुपर्छ । तर च्याम्पियन्स लिगको सेमिफाइनल एकपटक मात्रै पुग्‍न सकेको टिम कसरी दाबेदार हुनसक्छ मलाई थाहा छन्,’ ग्वार्डिओलाको प्रश्न थियो ।  

सिटीलाई प्रिमियर लिग जिताइसकेका ग्वार्डिओलाले आफ्नो टिम अग्रपंक्तिमा कमजोर देखिएको गुनासा गरे पनि सिटी रक्षापंक्तिमा भने बलियो देखिएको छ । सिटीले पछिल्ला १३ खेलमा गोल खाएको छैन । जसलाई ग्वार्डिओलाले आफ्नो टिमको जितको आधार भएको बताए ।


Author

थप समाचार
x