खेलकुद

तेस्रो टेस्टमा भारतको जित, सिरिजमा अग्रता

इकागज |
फागुन १४, २०७७ शुक्रबार ६:३५ बजे

काठमाडौँ : इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट क्रिकेट भारतले जितेको छ । बिहीबार राती नै सकिएको खेलमा भारत १० विकेटले विजयी भएको हो । जितका लागि पाएको ४९ रनको लक्ष्य भारतले दोस्रो पालीको ७ ओभर ४ बलमै कुनै विकेट नगुमाई भेट्टायो ।

भारतका लागि रोहित शर्माले नटआउट २५ र शुभमान गिलले नटआउट १५ रन बनाए । दोस्रो पालीमा इंग्ल्याण्डलाई ८१ रनमै अलआउट गरेपछि भारतले झिनो लक्ष्य पाएको हो । त्यसअघि पहिलो पालीमा भारतले १४५ रन बनाएको थियो । इंग्ल्याण्ड भने ११२ रनमै अलआउट भएको थियो ।


पहिलो पालीमा भारतका लागि रोहित शर्माले ६६ रन बनाएका थिए । समग्रमा भारतलाई तेस्रो टेस्ट जिताउन अक्षर पटेलले ११ विकेट लिए । पहिलो पालीमा ६ विकेट लिएका पटेलले दोस्रो पालीमा ५ विकेट लिएका थिए ।

दोस्रो टेस्टमा भारतीय टिमबाट डेब्यु गरेका पटेल तेस्रो टेस्टमा म्यान अफ दी म्याच भए । साथै रविचन्दन आश्विनले दुबै पालीमा ७ विकेट लिए । जितसँगै भारतले चार खेलको टेस्ट सिरिजमा २-१ को अग्रता लिएको छ । पहिलो टेस्ट भने इंग्ल्याण्डले जितेको थियो ।

घरेलु भूमिमा टेस्ट सिरिजसँगै भारतले न्युजिल्याण्डसँग विश्व टेस्ट च्याम्पियनशिपको फाइनल खेल्ने सम्भावना पनि बलियो बनाएको छ । यो सिरिज जितेमा भारतलाई टेस्ट क्रिकेट बरियताको शीर्ष स्थानमा उक्लिने मौका समेत हुनेछ । 


Author

थप समाचार
x