खेलकुद

पेड्रीको चोटले बार्सिलोनाको जित खल्लो

इकागज |
फागुन १६, २०७७ आइतबार १०:२९ बजे

काठमाडौँ: स्पेनी ला लिगामा शनिबार बार्सिलोनाले सेभियालाई २-० ले पन्छायो । अंग्रपक्ति सम्हालेका लियोनल मेस्सी र औसमाने डेम्बेलेले गोल गरेपछि रोनाल्ड कुमनको टोली लिगको दोस्रो स्थानमा उक्लियो । 

लिगमा गत साता काडिथसँग बराबरी खेल्दा लगातार सात जितको श्रृङ्खलालाई निरन्तरता दिन नसकेको बार्सिलोनाले बलियो सेभियालाई हराउँन खासै मेहेनत गर्नुपरेन । जितमा कप्तान मेस्सीले आफूलाई टिमको सबैभन्दा महत्वपूर्ण खेलाडी भएको प्रमाणित फेरि गरे । 


तर जारी लिगमा १७ औँ जित हासिल गरे पनि प्रशिक्षक रोनाल्ड कुमन पूर्णरुपमा खुशी भने बन्‍न सकेनन् । खेलको ७१ औँ मिनेटमा युवा मिडफिल्डर पेड्री चोट बोक्दै मैदान छाड्न बाध्य भएपछि बार्सिलोनाको जित खल्लो भयो । यस सिजन कुमनको भरपर्दा मिडफिल्ड विकल्पका रूपमा उदाएका पेड्रीले देब्रे खुट्टाको चोट बोकेका छन् । उनको विस्तृत स्वास्थ्य जाँच नभइसके पनि चोटको प्रकृती हेर्दा १८ वर्षीय खेलाडी अर्को खेलका लागि उपलब्ध हुने सम्भावना कम रहेको बताइएको छ । 

लिग उपाधि दौडमा पछि परिसकेको बार्सिलोनाले कोपा डेल रेको सेमिफाइनलमा बुधबार सेभियाकै सामना गर्दैछ । पहिलो लेगमा जित दर्ता गरेको बार्सिलोनासँग फेरि पनि सकरात्मक नतिजा निकाल्दै कप उपाधि नजिक पुग्‍ने मौका छ । 
   
 


Author

थप समाचार
x