खेलकुद

भारत र इंगल्यान्ड पिच बहस

भारतीय बलर आश्विन भन्छन् : पिचमाथिको बहस अन्त्य गरौँ

इकागज |
फागुन १६, २०७७ आइतबार ११:६ बजे

काठमाडौँ : भारत र इंगल्यान्डबीचको तेस्रो टेस्टपछि सुरु भएको पिच सम्बन्धि बहस सकिएको छैन । भारतले मोटेराको नरेन्द्र मोदी रंगशालामा भएको टेस्टमा पाहुना टोलीलाई १० विकेटले हराएपछि पिचमाथिको बहस सुरु भएकाे हो । 

पिचको विषयमा इंगल्‍यान्‍ड पक्षबाट बहस सुरु भइको थियो ।  एन्ड्रिउ स्ट्रस, एलेस्टर कुक, माइकल भन लगायतले मोटेराको पिच टेस्ट खेलका लागि उपयुक्त नभएको टिप्पणी गरेका छन् । तर, भारतीय स्पिनर रविचन्द्र आश्विनले भने इंगल्यान्डका तर्फबाट आएका टिप्पणी सही नभएको बताएका छन् । 


यसअघि कहिल्यै यो स्तरमा पिचका बारेमा बहस नभएको बताउँदै आश्विनले यो क्रम रोकिनु पर्ने प्रतिक्रिया दिए । ‘सबैलाई आ–आफ्नो विचार राख्न छुट छ । कसैको विचार सही वा गलत भनेर भन्न चाहान्न तर पिचको बहस आवश्यकता भन्दा धेरै भइसक्यो । यो तहको बहस पहिले भएको मलाई याद छैन,’ अश्विनले भर्चुअल पत्रकार सम्मलेनमा भने । 

आफूहरूले विदेशमा टेस्ट खेल्दा कहिले पनि पिचको बारेमा गुनासो नगरेको र गर्न पनि नहुने उनले बताए । ‘ब्याट्सम्यानले रन बनाउन सक्नुपर्छ । नत्र बलर हाबी हुन्छ । विपक्षीले खेल जित्छ । यो सामान्य तथ्य हो । यस्तो अवस्थामा के आधारमा पिच राम्रो वा नराम्रो भएको विश्लेषण गर्ने ?,’ आश्विनको प्रश्न छ ।   

तेस्रो टेस्ट भइरहँदा कुनै पनि इंग्लिस खेलाडीले गुनासो नगरेको उनको भनाई छ । ‘यो बहसलाई अब लामो नमनाउँ र अन्तिम टेस्ट रमाइलो होस् भनेर कामना गरौँ,’ आश्विनले भनेका छन् । 


 


Author

थप समाचार
x