खेलकुद

लिटल फ्लावर प्रिमियर लिग : शारदा र होल्याण्ड विजयी

इकागज |
फागुन १६, २०७७ आइतवार १७:३५ बजे

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगअन्तरगत आज भएका खेलमा शारदा विद्या निकेतन र होल्याण्ड स्कुल विजयी भएको छ । आज भएको पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई २६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ६६ रन बनायो । उस्का लागि सुरुवाती ब्याट्सम्यान दिनेश ओडले सर्वाधिक ९२ रनको पारी खेले ।

अर्जुन साउँदले २५ र विराट सेवाले १६ रन बनाए । लिटल बुद्धका लागि सागर भण्डारीले ३ र सागर थापाले २ विकेट लिए । १ सय ६७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको लिटल बुद्धले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ४० रन मात्रै बनाउनसक्यो । लिटल बुद्धका लागि रोयल बलमे अविजित रहदै ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । कप्तान आयुष्मान बम र सागर भण्डारीले २०-२० रन बनगाए । शारदाको जितमा दीपक रोकायाले ३ विकेट लिए । खेलका म्यान अफ द म्याच शारदाका दिनेश ओड भए । 


आइतबारनै भएको दोस्रो खेलमा होल्याण्ड स्कुलले स्टेपिङ स्टोनलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको स्टेपिङले १५ दशमलव ५ ओभरमा सवै विकेटको क्षतीमा ८६ रन मात्रै बनाउनसक्यो । उस्का लागि अविशेक कुँवरले २६ र आर्यन दानपालीले १३ रन बनाए । होल्याण्डका अशोक धामीले ४ र श्याम साउदले २ विकेट लिए । ८७ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको होल्याण्डले ८ दशमलव २ ओभरमा १ विकटको क्षतीमा लक्ष्य भट्टायो । होल्याण्डको जितमा गौरवसिंह रावतले अविजित रहदै ५५ रन बनाए । खेलका म्यान अफ द म्याच होल्याण्डका अशोक धामी भए । 

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तरगत भोलि पनि दुई खेल हुनेछन् । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५-५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् । 


Author

थप समाचार
x