खेलकुद

एलपीएल : रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्याइट हाउस विजयी

इकागज |
फागुन १७, २०७७ सोमबार १८:११ बजे

तस्बिर सौजन्य : महेन्द्र बम

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तरगत सोमबार भएका खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्याइट हाउस विजयी भएका छन् । 

पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन बनायो । उस्का लागि अंकित बिएमले ३३, सन्दिप विष्टले ३१ र सुवाश थापाले ३० रन बनाए । बलिङतर्फ दाङको रोजी बर्ड्सका आशिष सुवेदीले ३, विजय विश्‍वकर्मा र यकुव मियाँले २/२ विकेट लिए । 


१ सय ७१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको रोजी बर्ड्सले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउनसक्यो । उस्का लागि खुम चौधरीले अविजित रहदै २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । रोजी बर्ड्सलाई सस्तैमा समेट्ने क्रममा न्यू एकेडेमीका सन्दिप विष्टले ३, सुरेश रावल र अनिल थापाले २/२ विकेट लिए । खेलका म्यान अफ द म्याच न्यू एकेडेमीका सन्दिप विष्ट भए । 

प्रतियोगिताअन्तरगत आजै भएको दोस्रो खेलमा काठमाडौँको हिमालयन ह्याइट हाउसले कञ्‍चनपुरको लिटल बुद्ध एकेडेमीलाई ८ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको लिटल बुद्धले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो ।

 उस्का लागि रोयल बम र राजेश ऐरले १५/१५ रन बनाए । हिमालयन ह्याइट हाउसका लागि गजेन्द्र बोहराले ५ र सन्दिप शाहीले ३ विकेट लिए । ७३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको हिमालयन ह्याइट हाउसले ११ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
 
उस्का लागि दीपक बोहराले अविजित ५० र निश्‍चल थापाले १९ रनको योगदान दिए । बलिङतर्फ लिटल बुद्धका सागर भण्डारी र राजेश ऐरले १/१ विकेट लिए । खेलका म्यान अफ द म्याच गजेन्द्र बोहरा भए । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तरगत भोलि पनि दुई खेल हुनेछन् । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । 


Author

थप समाचार
x