खेलकुद

कतारमा तङ्ग्रदै विक्रम

प्रविणबिक्रम कट्‍वाल |
फागुन १७, २०७७ सोमबार १८:३६ बजे

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामा उपचारका क्रममा कतारमा छन् । लामो समयदेखि खुट्टाको चोटले दुःख दिएपछि शल्यक्रियाका लागि उनी कतारको प्रख्यात अस्पटार अर्थोपेडिक एण्ड स्पोटर्स हस्पिटल पुगेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार सरकारसँग समन्वय गरी विक्रमको उपाचारको चाजोपाँजो मिलाएको हो ।
 
‘स्पोटर्स इन्जुरी’ बोकेका खलाडीहरूका लागि अस्पटार लोकप्रिय उपचार स्थल हो । ब्राजिलियन स्टार नेयमारदेखि बोरुसिया डर्टमन्डका स्ट्राइकर एर्लिङ हालान्डसम्म उपचारका लागि अस्पटार धाउने गरेका छन् । यही अस्पटारमा धेरै नेपाली फुटबल खेलाडीहरूको पनि उपचार गरिएको छ । त्यो पनि निःशुल्क । विक्रमको उपचार र बसाइ खर्च कतारी सरकारले नै ब्यहोरिरहेको छ ।

पछिल्लो समय फुलब्याक रविन श्रेष्ठको उपचार पनि कतारको राजधानी दोहास्थित सोही अस्पतालमा गरिएको थियो ।
 
जनवरी १६ मा दोहा पुगेका विक्रमको फेब्रुअरी ३ मा दाहिने खुट्टाको शल्यक्रिया गरियो । तीन वर्षअघि धरानमा बुढासुब्बा गोल्डकप खेल्ने क्रममा विक्रमको खुट्टा भाँचिएको थियो । काठमाडौँमै गरिएको शल्यक्रियाले उनलाई खेलमा फर्कायो । तर शल्यक्रियाका क्रममा राखिएका रड निकाल्न बाँकी नै रहँदा उनको चोट बल्झियो । गत नोभेम्बरमा मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका बेला विक्रमलाई पुरानो चोटले दुःख दियो । नतिजा स्वरुप उनी राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरसँगै कतार पुगे । गत पुसमा अभ्यासका क्रममा घुडाँको चोट बोकेका विमल शल्यक्रियाका लागि त्यता गएका हुन् ।
 
विमल शल्यक्रिया अघि गराइने प्रि-रिह्याबिलिटेसनमा व्यस्त रहँदा, विक्रम भने शल्यक्रियापछि गराइने रिह्याबिलिटेसनमा छन् । शल्यक्रियाको भोलिपल्टदेखि नै विक्रमको रिह्याबिलिटेसन सुरु गरियो । ‘सुरुवातमा खुट्टा मोबिलाइज गर्ने काम भयो । अलि-अलि गर्दै हिड्ने गरे । त्यसको चार दिनपछि फिजियो थेरापिस्टसँग अभ्यास सुरु भयो,’ कतारमै रहेका विक्रमले भने ।
 
अहिले भने विक्रमको रिह्याबिलिटेसन फरक चरणमा छ । उनी प्रत्येक दिन डेढ घण्टादेखि अढाइ घण्टासम्म फिजियोसँग रहन्छन् । मैदानमा दौड्नेदेखि जिममा अभ्यास गर्नेसम्मका कार्यमा उनी दिनहुँ व्यस्त छन् । ‘सुरुमा करिब ६० प्रतिशत दुखाइ थियो । अहिले भने १० प्रतिशतमा झरिसक्यो । दौड्दा पनि दुखाइ छैन । तर दौड सकेर रोकिँदा भने दुखाइ महसुस हुन्छ । दिनहुँ गर्ने अभ्यासले मेरो आत्मविश्‍वास बढिरहेको छ,’ विक्रमले भने ।


विक्रम शल्यक्रिया भएको मितिले तीन महिनासम्म मैदान बाहिर रहनेछन् । उनको खुट्टा भाँचिएपछि शल्यक्रिया गर्दा राखिएको रडको डोब अझै पुरिएको छैन । डोब पुरिएपछि मात्रै हड्डी पूर्णरूपमा बलियो हुने विक्रमको उपचारमा संलग्‍न चिकित्सकले बताएका छन् । 

विक्रम र विमललाई एउटै होटलमा राखिएको छ । तर रिह्याबिलिटेसन सेसन भने फरक हुन्छ । उनीहरू बसिरहेको होटलबाट अस्पताल १० मिनेटको दूरीमा छ । जहाँ विक्रमलाई दुई फरक तालिकामा अभ्यास गराइन्छ । ‘एकदिन नियमित फिजियोथेरापी सेसन र जिम सेसन हुन्छ । दोस्रो दिन भने दुई सेसन मध्ये एउटा मात्रै गराइन्छ । जिममा विशेषगरी कार्डियो गराइन्छ । ता की नर्मल फिटनेसमा फर्कन सकुँ,’ विक्रमले थपे ।

विक्रम अस्पटारको सुविधा र रिह्याबिलिटेसन शैली देखेर दङ्ग छन् । ‘यहाँको रिह्याबिलिटेसन गराउने शैली नै फरक छ । एकदमै वैज्ञानिक पनि । स्पोटर्स पनि एक प्रकारको साइन्स हो भन्‍ने सुनेको, यहाँ आएर छर्लङ्ग भयो । कुनै पनि सेसनमा थोरै मात्रै दुखाइ महसुस भए त्यसदिनको अभ्यास बन्द गरिन्छ । शरीरले के भनिरहेको छ, त्यो सुन्‍नुपर्छ भन्‍ने मान्यता छ यहाँ,’ विक्रम भन्छन्, ‘नेपालमा हामी दुखाइमै खेल्ने, अभ्यास गर्ने गर्छौ । दुखाइमै खेल्दा बानी परिन्छ भन्‍ने हुन्छ । तर यहाँ आएपछि त्यो गर्न नहुने रहेछ भनेर ज्ञान भयो ।’
   
व्यवसायिक बन्‍न नसकेको नेपाली फुटबलमा खेलाडीहरू चोट बोकेपछि त्यसबाट कसरी पार पाउने भनेर डरमा रहन्छन् । केही महिनाको लिग र घरेलु प्रतियोगिताको भरमा जीवन निर्वाह गर्नुपर्ने खेलाडीलाई खेल दौरान बोकिने चोटले सधैँ सताउने बताउँछन् विक्रम । ‘कम पारिश्रामिकमा खेल्नु पर्ने बाध्यता त छदैछ । उपचार कसरी गराउने भन्‍ने अर्को तनाव हुन्छ । अनि रिह्याबिलिटेसनको राम्रो व्यवस्था नहुँदा, झन पीडा थपिन्छ,’ विक्रम गुनासो पोख्छन् ।
 
उपचार र रिह्याबिलिटेसनको मात्रै पनि राम्रो व्यवस्था हुने भए नेपाली खेलाडीको खेल र प्रदर्शनस्तर स्वतः उकासिने धारणा राख्छन् विक्रम । ‘फुटबल फिजिकल गेम हो । तर नेपालमा भने चोट बोकिन्छ कि भन्‍ने पिरले गर्दा मैदानमा शत प्रतिशत फिजिकल भएर खेल्न सकिदैन । कमसेकम राम्रो उपचारको व्यवस्था हुनेभए खेलाडीले ढुक्क भएर मैदानमा लड्न सक्छ,’ विक्रमको भनाइ थियो ।

‘कम पारिश्रामिकमा खेल्नु पर्ने बाध्यता त छदैछ । उपचार कसरी गराउने भन्‍ने अर्को तनाब हुन्छ । अनि रिह्याबिलिटेसनको राम्रो व्यवस्था नहुँदा, झन पीडा थपिन्छ,’ विक्रम गुनासो पोख्छन् । 

इंग्लिस प्रिमियर लिग लगायतका विदेशी लिगमा खेलाडीहरू शरीरको प्रवाह नगरी खेल्नुका कारण उनीहरूले पाउने उपचार र रिह्याबिलिटेसन सुविधा भएको विक्रमको ठम्याइ छ । ‘कतारमै समेत खेलाडीको बिमा हुने रहेछ । मैले त यही आएर थाहा पाए । त्यसो भएपछि खेलाडीले उपचार कसरी गर्ने भन्‍ने तनाब बोक्नु नपर्ने रहेछ,’ विक्रमले थपे ।
 
विक्रम शल्यक्रिया भएको मितिले तीन महिनासम्म मैदान बाहिर रहनेछन् । उनको खुट्टा भाँचिएपछि शल्यक्रिया गर्दा राखिएको रडको डोब अझै पुरिएको छैन । ती डोब पुरिएपछि मात्रै हड्डी पूर्णरूपमा बलियो हुने विक्रमको उपचारमा संलग्‍न चिकित्सकले बताएका छन् । तीन महिना भन्दा बढी आफू मैदान बाहिर नरहनेमा विक्रम ढुक्क छन् । ‘म त अहिले नै खेल्न सक्छु जस्तो लाग्छ । त्यो स्तरको आत्मविश्‍वास छ,’ विक्रमले हाँस्दै भने, ‘तीन महिना कटेपछि म सामूहिक अभ्यासमा फर्कनेछु । जुन रिह्याबिलिटेसनको अन्तिम चरण हो । मैदानको भिडसँग अभ्यस्त भएपछि म पूर्णरूपमा खेलमा फर्कनेछु ।’
 
३१ वर्षीय विक्रम आफू अझै पाँच वर्ष खेल्न सक्ने बताउँछन् । कतार पुगेपछि ‘फ्याट चेक’ देखि अन्य विभिन्‍न आवश्यकीय जाँच गराउँदा आफ्नो शारीरिक अवस्था राम्रो रहेको पाएको र यही स्तरमा शरीरलाई ‘मेन्टेन’ गर्न सके आफूले सजिलै ३५ वर्षसम्म खेल्न सक्ने आत्मविश्‍वास जागेको विक्रमको भनाइ छ । सन् २०१२ मा नेपाली राष्ट्रिय टोलीको यात्रा सुरु गरेका विक्रम भरपर्दा मिडफिल्डर हुन् । प्लेमेकर तथा डिफेन्सिभ मिडफिल्डरको भूमिकामा खरो उत्रदै आएका विक्रम लामो अवधिसम्म खेल्न सक्नु कम खेलाडी उत्पादन भइरहेको नेपाली फुटबलका लागि सुखद समाचार हो । 


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x